बिर्तामोड , फागुन १३ । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनप्रति नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचनमा उठाइएका उम्मेद्वारहरुमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व न्यून भएपछि त्यसप्रति महासंघले आपत्ति जनाएको हो ।

बिर्तामोडमा बसोबाससँगै व्यापार व्यवसायमा एउटै मात्र जातिको नभएर धेरै जातजातिको संलग्नता रहेको र बसोबासलाई हेर्दा बिर्तामोडमा आदिवासी जनजाति समुदायको बाक्लो बसोबास रहेको अबस्थामा दुवै प्यानलले समानुपातिक र समावेशी हिसाबले उम्मेद्वार नबनाएको महासंघको गुनासो हो । महासंघले एक विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेद्वार बन्नबाट बञ्चित गराइएको अबस्थामा निर्वाचनपछि मनोनयन हुने तीन जना सदस्यहरुको कोटामा आदिवासी जनजाति समुदायका तर्फबाट मनोनित हुने व्यवस्था मिलाइदिनु हुन निर्वाचित हुनुहुने कार्यसमितिलाई आग्रह गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता एक हजारभन्दा बढी आदिवासी जनजाति व्यवसायीहरुले लिएको जनाइएको छ । वाणिज्य संघको निर्वाचनमा उठाइएका उम्मेद्वारहरुको बारेमा छलफल गर्न महासंघको बुधबार बैठक बसेको थियो । निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलले सदस्यमा विसन लिम्बुलाईमात्र उठाएको छ भने लोकतान्त्रिक प्यानलका तर्फबाट कोही पनि परेका छैनन् । निर्वाचित भइसकेपछि आफूहरुले सदस्य कोटामा आदिवासी जनजातिलाई मनोनयन गर्ने निर्णय गरिसकेको लोकतान्त्रिक प्यानलका प्रचारप्रसार समितिका किरण श्रेष्ठले बताए । यसअघि राजवंशी व्यवसायीहरुले पनि उम्मेद्वार चयनका विषयमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्