बिर्तामोड , फागुन १५ । आगामी तीन वर्षे कार्यकालका लागि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन भोलि बिर्तामोडस्थित अग्रसेन भवनमा हुँदैछ ।

विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अध्यक्ष १ , वरिष्ठ उपाध्यक्ष १ , उद्योग उपाध्यक्ष १ , वाणिज्य उपाध्यक्ष १ , जनसम्पर्क उपाध्यक्ष महिला १ , महासचिव १ , उद्योग सचिव १ , वाणिज्य सचिव १ , कोषाध्यक्ष १ , सहकोषाध्यक्ष महिला १ , सदस्य खुल्ला ७ , सदस्य महिला २ गरी १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । उम्मेद्वारी रद्ध भएर जनसम्पर्क महिला उपाध्यक्ष पदमा एक मात्र उम्मेद्वारी नैनकला भट्टराईको कायम रहेकाले उनलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा पूर्व अध्यक्ष ११ जनासहित कूल ४ हजार ५५० जना मतदाता रहेका छन् । मतदानलाई व्यवस्थित बनाउनका लागि हरेक ५०० मतदाताका लागि एउटा लाइन गरी कूल ९ वटा लाइनको व्यवस्था गरिएको र हलभित्र पर्याप्त संख्यामा मतदान गर्ने स्थानको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत शेखर ढकालले जानकारी दिए । उनले एक मुख्य निर्वाचन अधिकृत ,१६ निर्वाचन अधिकृतसहित कूल ४२ जनाको निर्वाचन टीम तथा आवश्यक संख्यामा सुरक्षाकर्मीको व्यवस्था गरिएको बताए । उनका अनुसार दुईजना सूचना प्राविधिकलाई नियुक्त गरिएको छ भने सबै पूर्व अध्यक्षहरु ११ जना निर्वाचन समिति सल्लाहकारका रुपमा रहेका छन् ।

त्यसैगरी मतदान र गणनालाई प्रविधिमैत्री बनाइएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल बाहिर मतदाताको लाइन र मतपेटिका पूर्णरुपमा सीसी क्यामेराको निगरानीमा रहने निर्वाचन समितिका सदस्य बुद्धिराज भट्टराईले बताए । उनले अतिथि सदनमा हुने मतगणनास्थलमा पूर्ण सुरक्षासहित सीसी क्यामेराबाट निगरानी हुने जानकारी दिए । मतगणनास्थलको गतिविधि हल बाहिर सबैले देख्नसक्ने प्रोजेक्टरमार्फत डिस्प्ले गरिने समेत उनले बताए । त्यस्तै मतदानलाई छिटोछरितो बनाउन मतदानका लागि लामबद्ध मतदाताको नाम कम्प्युटरबाट रुजु हुने व्यवस्था मिलाइएको छ । जसका लागि ९ वटै लाइनमा दक्ष कम्प्युटर प्राविधिकको व्यवस्था गरिएको निर्वाचन समितिका अर्का सदस्य राजेन्द्र चौलागाईले बताए ।उनले मतदानमा बाधा नपर्नेगरी सरकारका प्रतिनिधि, विशिष्ठ व्यक्ति, संचारकर्मी ,अधिकारकर्मीहरुबाट निर्वाचनको पर्यवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिए । निर्वाचन कार्यक्रम निश्पक्ष ,पारदर्शी , व्यवस्थित र छिटाछरितो रुपमा सम्पन्न गर्न निर्वाचन समिति प्रतिवद्ध रहेको मुख्य निर्वाचन अधिकृत ढकालले बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको उपस्थिति रहेको पत्रकार सम्मेलनमा मतदानको तयारीका वारेका डेमोस्ट्रेसनसमेत देखाइएको थियो ।कार्यक्रमको संचालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्