बिर्तामोड, फागुन १५ । संचालनमा आएको एक वर्ष दुई महिनापछि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भव्य रुपमा उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले फागुन १८ गते पूर्वाञ्चल क्यान्सर हस्पिटलको भव्य समारोहका बीच उद्घाटन गर्ने भएका हुन् । हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आज पत्रकार सम्मेलन गरी उद्घाटन कार्यक्रमका वारेमा जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नी खरेल, पूर्व मन्त्री महेश बस्नेत , नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल , विभिन्न बैंकका कार्यकारी प्रमुखहरुलगायतको उपस्थिति रहने उनले बताए ।त्यसैगरी उद्घाटन समारोहमा चर्चित नायिका मनिषा कोइराला, अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलगायतको गरिमामय उपस्थिति रहने प्रसाईले बताए । बलिउडकी चर्चित नायिका सोनाली बेन्द्रेलाई समेत निम्तो पठाइएको उनले बताए । क्यान्सर रोगसँग लडेर जित्न सफल भएका व्यक्तित्वहरुलाई उद्घाटन कार्यक्रममा बोलाइएको प्रसाईले जानकारी दिए ।त्यस्तै राजधानीका ठूला संचार गृहका ६० जना स्वास्थ्यसम्बन्धी समाचार लेख्ने सम्पादकहरुलाई पनि बोलाइएको छ ।
पूर्वाञ्चल क्यान्सर हस्पिटल गत वर्षको जनवरी १ देखि संचालनमा आएको हो । त्यसको उद्घाटन भने भएको थिएन । यस वर्ष ठूलो तामझामका साथ यसको उद्घाटन गर्न लागिएको हस्पिटलले जनाएको छ । ‘हामी उत्सवकै रुपमा यसको उद्घाटन गर्दैछौं’ प्रसाईले भने, उद्घाटनमा डेढ–दुई लाख जनाको आमसभाजस्तै भीड हुनेछ ।’

उद्घाटन कार्यक्रका लागि ३ लाख जनालाई निम्तो गरिएको छ भने कार्यक्रममा आउने ५० हजार जनाका लागि राम्रो खानाको प्रवन्ध मिलाइएको छ । ‘५० हजार जनाको लागि हाइटी खानाको व्यवस्था गरेका छौं ’ कार्यकारी प्रमुख प्रसाईले भने ,‘त्यो दिन कोही पनि भोकै रहने छैन ।’
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार प्रधानमन्त्री ओली क्यान्सर हस्पिटलको उद्घाटनका लागि सो दिन साढे ७ घण्टा झापामा रहनेछन् । ओलीले अधिकांश समय क्यान्सर र बिएन्डसी हस्पिटललाई दिनेछन् । मंगलवार उद्घाटनका दिन विहान १० बजेको यति एयरलायन्समार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आउनेछन् । कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौं फर्कने बताइएको छ ।
बिएन्डसी हस्पिटलका निर्देशक प्राध्यापक डाक्टर उमेश शर्माले पूर्वाञ्चल क्यान्सर हस्पिटल मुलुककै अब्बल हस्पिटल भएको बताए । उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए । ३०० बेडको स्वीकृति पाएको सो हस्पिटल हाल १०० बेड सञ्चालन भइरहेको छ । एशियाकै गहना पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकारी प्रमुख प्रसाईले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्