बिर्तामोड , फागुन १६ । आगामी तीनवर्षे कार्यकालका लागि उत्साहजनक सहभागितामा बिर्तामोड उद्योग वाणिज्य संघको मतदान आइतबार सम्पन्न भएको छ ।

बिर्तामोडस्थित अग्रसेन भवनमा विहान सवा ८ बजे शुरु भएर साँझ ५ बजेसम्म चलेको मतदानमा ८४.८० प्रतिशत मत खसेको छ । कूल ४५३९ मतदातामध्ये ३८४९ जनाले मतदानमा भाग लिएका छन् भने ६९० जना मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष १ , वरिष्ठ उपाध्यक्ष १ , उद्योग उपाध्यक्ष १ , वाणिज्य उपाध्यक्ष १ , महासचिव १ , उद्योग सचिव १ , वाणिज्य सचिव १ , कोषाध्यक्ष १ , सहकोषाध्यक्ष महिला १ , सदस्य खुल्ला ७ , सदस्य महिला २ गरी १८ पदका लागि मतदान भएको हो । उम्मेद्वारी रद्ध भएर जनसम्पर्क महिला उपाध्यक्ष पदमा एक मात्र उम्मेद्वारी नैनकला भट्टराईको कायम रहेपछि उनलाई यसअघि नै निर्विरोध घोषणा गरिसकिएको छ । मुख्य निर्वाचन अधिकृत शेखर ढकालका अनुसार मतदानलाई व्यवस्थित बनाउनका लागि हरेक ५०० मतदाताका लागि एउटा लाइन गरी कूल ९ वटा लाइनको व्यवस्था गरिएको र हलभित्र पर्याप्त संख्यामा मतदान गर्ने स्थानको व्यवस्था गरिएको थियो । उनले एक मुख्य निर्वाचन अधिकृत ,१६ निर्वाचन अधिकृतसहित कूल ४२ जनाको निर्वाचन टीम व्यवस्था गरिएको बताए । त्यस्तै मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सशस्त्र प्रहरीका १० सहित जम्मा ५० जना सुरक्षाकर्मी खटाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

आइतबारबाटै मतगणना
निर्वाचन समितिले आइतबारबाटै मतगणना शुरु गर्ने भएको छ । साँझ ५ बजे मतदान सम्पन्न भइसकेपछि खसेको मत र मतपेटिकाको मुचुल्का उठाइसकेर मतगणनास्थल ल्याइसकेको निर्वाचन अधिकृत राजेन्द्र चौलागाईले जानकारी दिए । त्यसपछि राति ८ बजेदेखि मतगणना शुरु गरिने उनले जानकारी दिए । रातभरि मतगणना जारी रहे सोमबार दिउँसोसम्म अन्तिम मतपरिणाम आइसक्ने अनुमान गरिएको छ । अतिथि सदनमा भइरहेको मतगणनास्थलमा पूर्ण सुरक्षासहित सीसी क्यामेराबाट निगरानी हुने जनाइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्