कुमरखोद , फागुन १७ । झापा गाउँपालिकाको वडा नं १ लसुनगंज र सालमाराको बीचमा रहेको सानोमाई नदीमा पक्की पुल निर्माण भएको छ ।

झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले सो पुलको उद्घाटन गरे ।
झापा गाउँपालिकाले पक्की पुलको निर्माण गर्न तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको बजेट संयुक्त रुपमा लगानी गरेको हो । झापा गाउँपालिकाले पक्की पुल बनाउन ३ करोड ५८ लाख ३५ हजार ७५६ रुपैयाँमा के.एम समता जेवी कम्पनी बिर्तामोडलाई ठेक्का दिएको थियो । उक्त कम्पनीले गाउँपालिकासँग २०७५ साल असार १८ गते सम्झौता गरेको थियो भने काम सम्पन्न मिति २०७८ साल असार १७ गते रहेको थियो । तर कम्पनीले सम्झौता मितिभन्दा ५ महिना अगावै २०७७ साल १० महिना २९ गते काम सम्पन्न गरेको कम्पनीका प्रतिनिधि गोविन्द बस्नेतले जानकारी दिए । पुलको लम्वाई २५ मिटर र चौडाई ७ मिटर रहेको छ ।

झापा गाउँपालिका वडा १ का अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष शाह रहेका थिए । अध्यक्ष शाहले यो पुल निर्माणले स्थानीय जनताको मुहार फेरिने बताए । अवको विकास भनेको कृषिमा लगानी गर्ने र खेत–खेतमा सिचाईको लागि विजुलीको व्यवस्था गरिने उनले बताए ।
कमल लिम्वुले स्वागत मन्तव्य राखेको कार्यक्रमा वडा अध्यक्ष राजकुमार यादव , जसपाका केन्द्र नेता मोहितलाल कामती , रेडक्रसका झापा उपशाखाका सभापति सुन्दरलाल गणेश , एमाले नेता जालिम मियाँ , काजीबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा झापा गाउँपालिका न्याय समिति सदस्य राजकुमार कोच , महिला नेतृ लखी गणेश, गौरव संग्रौला , कृत विष्टलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कुमार गणेशले गरेका थिए । पक्की पुल बनेपछि स्थानीयवासीको अनुहारमा खुशीयाली देखिएको छ । सानोमाई नदीकै कारण स्थानीय वासिन्दाहरुलाई वर्षातको समयमा आवतजावत गर्न सकस गर्नु पथ्र्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्