बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनबाट मिश्रित परिणाम आएको छ ।

मुख्य र धेरै पदहरुमा नेपाली कांगे्रसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलले जित हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानलले पनि थोरै भएपनि आफ्नो उपस्थितिलाई कायम राखेको छ । दश जना पदाधिकारीमध्ये अध्यक्षसहितको ८ जना लोकतान्त्रिकले जितिरहँदा संयुक्तले महासचिव र वाणिज्य सचिवसहित दुईवटा पदाधिकारी आफ्नो पक्षमा पार्न सफल भएको हो । त्यस्तै खुल्ला सदस्य ७ र दुई महिला सदस्यगरी ९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जितेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा विजयी बनेका शिवाकोटीले २१३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् । जुन ५२४ मतको अन्तर हो । यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने २११६ मतसहित विजयी बनेका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १५९२ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरे १९४० मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ मत प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले २२७८ मतका साथ जित हासिल गरिरहँदा संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् । महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली १८४३ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।
उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा सर्वाधिक २५२० मतसहित विजयी बनिरहँदा संयुक्त प्यानलका धनबहादुर डाँगीले मात्र १०६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल १९६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् ।
महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मतले जित हासिल गरिरहँदा संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै खुल्ला सदस्यमा विशाल थापा २०९९, गुन्जन प्रसाई २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९ , बलराम सिटौला राम १८६१ , गौरीशंकर गुप्ता टिंकु १७९० तथा महिला सदस्यमा तुलसा ढकाल खनाल २१९५ र रुचि शिवाकोटी २०७६ मतसहित विजयी बनेका छन् । खुल्ला सदस्यमा गोविन्द कार्की १६४०, वलबहादुर लिम्बु विसन १७७५ , भगिरथ लुइटेल १४२२ , मनोजकुमार शाह १७३२ ,सन्नी गोयल १७१६ , सूर्यकुमार खतिवडा १६४६ तथा महिला सदस्यमा सिर्जना अग्रवाल सोनीले १७६६ मत ल्याएका छन् ।
कांगे्रसनिकट लोकतान्त्रिक प्यानलले अधिकांश पदमा विजयी हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त प्यानलबाट राप्रपाका एकजना वाणिज्य सचिव कृष्ण पौडेलले मात्र जितेका छन् । राप्रपाले तीन पदाधिकारी तीन सदस्य पाएको थियो । ११ जनाले उम्मेद्वारी दिएको नेकपाले भने महासचिव र दुई सदस्य गरी ३ पदमा विजयी हासिल गरेको छ । राजनीतिक दलहरुले भिन्नाभिन्नै प्यानल बनाएपनि मतदाताहरुले प्यानलसँगै उम्मेद्वारलाई हेरेर मत दिएको पाइएको छ । निर्वाचनमा प्यानलसँगै जातीय र क्षेत्रीय राजनीति पनि हावी देखिएको एकजना पर्यवेक्षकले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्