बिर्तामोड, फागुन १८ । संचालनमा आएको एक वर्ष दुई महिनापछि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भव्य रुपमा आज उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले फागुन १८ गते पूर्वाञ्चल क्यान्सर हस्पिटलको भव्य समारोहका बीच उद्घाटन गर्ने भएका हुन् । हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले उद्घाटन कार्यक्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नी खरेल, पूर्व मन्त्री महेश बस्नेत , नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल , विभिन्न बैंकका कार्यकारी प्रमुखहरुलगायतको उपस्थिति रहने बताए । पूर्वाञ्चल क्यान्सर हस्पिटल गत वर्षको जनवरी १ देखि संचालनमा आएको हो । त्यसको उद्घाटन भने भएको थिएन । यस वर्ष ठूलो तामझामका साथ यसको उद्घाटन गर्न लागिएको हस्पिटलले जनाएको छ । ‘हामी उत्सवकै रुपमा यसको उद्घाटन गर्दैछौं’ प्रसाईले भने, उद्घाटनमा डेढ–दुई लाख जनाको आमसभाजस्तै भीड हुनेछ ।’
उद्घाटन कार्यक्रका लागि ३ लाख जनालाई निम्तो गरिएको छ भने कार्यक्रममा आउने ५० हजार जनाका लागि राम्रो खानाको प्रवन्ध मिलाइएको छ । ‘५० हजार जनाको लागि हाइटी खानाको व्यवस्था गरेका छौं ’ कार्यकारी प्रमुख प्रसाईले भने ,‘ आज कोही पनि भोकै रहने छैन ।’
हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार प्रधानमन्त्री ओली क्यान्सर हस्पिटलको उद्घाटनका लागि सो दिन साढे ७ घण्टा झापामा रहनेछन् । ओलीले अधिकांश समय क्यान्सर र बिएन्डसी हस्पिटललाई दिनेछन् । आज विहान १० बजेको यति एयरलायन्समार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आउनेछन् । कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्