ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाअन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५३ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेको स्थानीयले बताएका छन् । बस्तीमा लागेको आगो केही नियन्त्रणमा आएपनि बजारभन्दा माथिको भीरमा समेत आगो लाग्न थालेपछि खतरा झनै बढेको प्रहरीले जनाएको छ । बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ । स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको स्थानीय हरि काफ्लेले बताए । आज बिहानदेखि लाग्न थालेको आगो करिब १२ बजेदेखि केही हदसम्म नियन्त्रणमा लिइएको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलिरहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जानकारी दिएको छ ।यसैबीच प्रधानमन्त्री केपी ओलीले सो घटनाप्रति दुख व्यक्त गरेका छन् । बिर्तामोड ७ मा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको बताउँदै राहत उपलब्ध गराउन र पुनर्निर्माणको कार्य तत्काल गर्न मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् । कार्यक्रममा सँगै रहेका मुख्यमन्त्री राईलाई निर्देशन दिदै उनले भने ,‘मुख्यमन्त्रीज्यूले यसको संयोजन गर्नुहुनेछ ।’ दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट भएको क्षतिको वास्तविक तथ्याङ्क आउन समय लाग्ने जिल्ला प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए ।



