बिर्तामोड , फागुन २० । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा भएको चलखेलको यतिबेला बजारमा चर्चा छ । एउटै प्यानलभित्र कुन समूह , कुन जाति र कुन उम्मेद्वारले चलखेल गरे भन्ने अड्कल काट्न थालिएको छ ।

नेपाली कांगे्रसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानल र राप्रपालाई मिलाएर नेकपाको दुईवटा समूहले बनाएको संयुक्त व्यावसायिक प्यानल निर्वाचनमा होमिएका थिए । दुवै प्यानलमा चलखेल भएको स्वयं उम्मेद्वारहरुले ठहर गरेका छन् । जसरी भएपनि निर्वाचन जित्नेहरुले त्यसको हिसावकिताव नराखेपनि हार्नेहरुले लेखाजोखा गरिरहेका छन् । लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटीको नेतृत्वमा बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको हो । मुख्य र धेरै पदहरुमा लोकतान्त्रिक व्यावसायिक प्यानलले जित हासिल गरिरहँदा महत्वपूर्ण महासचिव र वाणिज्य सचिव पद गुमाउनु परेको छ । त्यस्तै नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानलले पनि थोरै भएपनि आफ्नो उपस्थितिलाई कायम राखेको छ । दश जना पदाधिकारीमध्ये अध्यक्षसहितको ८ जना लोकतान्त्रिकले जितिरहँदा संयुक्तले महासचिव र वाणिज्य सचिवसहित दुईवटा पदाधिकारी आफ्नो पक्षमा पार्न सफल भएको हो । त्यस्तै खुल्ला सदस्य ७ र दुई महिला सदस्यगरी ९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जितेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा शिवाकोटी विजयी भइरहँदा सोही प्यानलका महासचिव पदका उम्मेद्वार रविन्द्र भट्टराई र वाणिज्य सचिवका उम्मेद्वार राजकुमार शाहले हार बेहोर्नु परेको हो । कांगे्रसले चुनाव जित्दाजित्दै हार्नु परेको लोकतान्त्रिक प्यानलका प्रशान्त भण्डारीले बताए । लोकप्रिय र अनुभवी हुँदाहुँदै महासचिव र वाणिज्य सचिवका उम्मेद्वारले चुनाव हार्नु आश्चर्यजनक भएको उनले प्रतिक्रिया दिए । प्यानलभित्रका मतदाताहरु अरुबाट निर्देशित हुँदा चुनाव हार्नु परेको उनको बुझाइ छ ।

उता संयुक्त प्यानलका महासचिवका उम्मेद्वार अर्जुनकुमार मैनालीले जितिरहँदा अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले पराजय व्यहोर्नु पर्यो । नेकपाको दुई समूहमध्ये ओली समूहकाले मात्र निर्वाचन जितेका छन् भने प्रचण्ड–नेपाल समूहको पत्तासाफ भएको छ । महासचिवमा जित्ने मैनाली , खुल्ला सदस्यमा जित्ने गुन्जन प्रसाई ,गौरीशंकर गुप्ता टिंकु र महिला सदस्यमा विजयी रुचि शिवाकोटी चारैजना ओली समूहका हुन् । अध्यक्ष पदमा पराजित सुवास भट्टराई नेकपाको प्रचण्ड–नेपाल समूहका हुन् ।संयुक्त प्यानलका उम्मेद्वारहरुको बाहिरी विचार एउटै देखिएपनि भित्री विचार नमिल्दा हार बेहोर्नु परेको व्यवसायी गोपी गिरीले बताए । उनले वाणिज्य संघको निर्वाचनमा जातीय कुराले बढी प्रभाव पारेको ठहर गरे ।‘एउटा जातले अर्को जातलाई मत नदिएको पाइयो’उनले भने ,‘मैले पनि वाणिज्य संघको निर्वाचनमा त्यो भोगेको छु ।’ नेकपा र राप्रपाको संयुक्त प्यानलबाट राप्रपाका एकजना वाणिज्य सचिव कृष्ण पौडेलले मात्र जितेका छन् । राप्रपाले तीन पदाधिकारी र तीन सदस्य पाएको थियो । वाणिज्य संघको निर्वाचनमा चलखेल भएको राप्रपाका जिल्ला उपाध्यक्ष कमल खरेलको पनि ठम्याइ छ ।अघिल्लो निर्वाचनमा राप्रपाले नेकपा एमालेसँग सहकार्य गर्दा ५ उम्मेद्वारमध्ये एकजना जितेको थियो भने यसपटक ६ जनालाई उठाउँदा एकजनाले मात्र जित्न सकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्