झिलझिले, फागुन २१ । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सवैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ ।

स्थानीय व्यवसायीहरुको करिव ३५ करोड रुपैयाँको लगानीमा जिल्लाकै सुविधासम्पन्न पार्क औपचारिक रुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् ।
पार्क सञ्चालकसमेत रहेका कार्यकारी निर्देशक राजकुमार संग्रौलाका अनुसार फागुन २६ गतेदेखि सर्वसाधारणका लागि टिकट खुला गरेर पार्क सञ्चालनमा आउने र त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।
पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभएपनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि जिल्लामै उपयुक्त ठाउँ वाटर किङ्डम पार्क रहेको शिवसताक्षी नगरपालिका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि स्थानीय व्यवसायीहरुले सन् २०१९ मा वाटर किङ्डम पार्क निर्माण सुरू गरेका थिए । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कको भौतिक संरचना निर्माण रोकिएको थियो । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण सुरू गरिएको सञ्चालक संग्रौलाले बताए । पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र पछिल्लोपटक जिप साइक्लिङ पनि भित्र्याईएको छ । पार्क नखुल्दै सयौं सर्वसाधारणले साईकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् ।
पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरीलगायतका जिल्लाबाट समेत सर्वसाधारणहरू आउन थालेका छन् ।
सञ्चालक संग्रौलाका अनुसार पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने ८ प्रकारका आइटम पनि छन् । स्विमिङ पुलसहित वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइडलगायतका मनोरञ्जनात्मक खेलहरु समावेश छन् ।
त्यस्तै, पार्कमा बालबालिकासहित ज्येष्ठका लागि आवश्यक विश्राम निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् ।

पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका घुम्नयोग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत सञ्चालक संग्रौलाले बताए । उनले भने , ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाउने छौं ।’ यसका अलावा भारतको कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाउँ पनि प्याकेजमा घुमाउने योजना रहेको संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्