अर्जुनधारा , फागुन २१ । बछलादेवी सोसियल फाउन्डेसन बिर्तामोडको आयोजनामा बिहीबार अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग तथा सिद्धेश्वरी महिला समूह खुदुनाबारीको सहयोगमा सम्पन्न शिविरमा ४६१ जनाले आँखा जाँच गराएका थिए । शिविरको सुरुवात ९६ वर्षीय भवानी खड्काको आँखा जाँचबाट गरिएको थियो । आँखा जाँच गरिएकाहरुमा धेरैजसो मोतीया बिन्दु समस्या देखिएको चिकित्सक योगेन्द्र राउतले बताए । जटिल समस्या देखिएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि काँकरभिट्टास्थित मेची नेत्रालय लगिने जनाइएको छ ।

अर्जुनधारा–१ का वडाध्यक्ष गजाधर खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता फाउन्डेसनका अध्यक्ष डम्बरबहादुर देउजाले गरेका थिए । देउजाले स्वर्गीय बछलादेवीको सम्झनामा फाउन्डेसनले हरेक वर्ष सामाजिक कार्य गर्दै आएको बताए । कार्यक्रममा फाउन्डेसनका संरक्षक नेत्रकुमार देउजा, अर्जुनधारा नगरपालिकाका आईटी प्रमुख विनोद खनाल, फाउन्डेसनका कोषाध्यक्ष मनोज बानिया, सदस्य नवीन खड्का, सल्लाहकार मनप्रसाद खनाल, सयपत्री युवा समूहका उपाध्यक्ष धरणी सुवेदी, प्रेम खत्री, उपेन्द्र बस्नेत लगायतको आतिथ्यता रहेको थियो । हचुमासा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिद्धेश्वरी महिला समूहकी अध्यक्ष प्रभा नेपालले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्