झापा , फागुन २१ । फोहोरलाई पनि मोहोरमा परिणत गर्न सकिन्छ भन्ने उदाहरण यतिबेला पूर्वी पहाडी जिल्लाका महिलाहरुले प्रस्तुत गरिरहेका छन् ।

अलैंची उत्पादन हुने पहाडी जिल्लाका महिलाहरुले अलैंची टिपिसकेपछि खेर जाने बोटलाई उपयोग गर्दै आर्थिकरुपमा आत्मनिर्भरताको बाटो रोजेका हुन् ।
ताप्लेजुङकी लघु उद्यमी माया गुरुङले आफ्नै सीप लगाएर अलैंचीको बोटको सराबाट हस्तकलाका सामग्री उत्पादन गरी त्यसको बिक्रीबाट सन्तोषजनक आम्दानी गरेको थाहा पाएपछि अरु महिला पनि अलैंचीको सराबाट हस्तकलाका सामग्री बनाउन हौसिएका छन् ।
पराल, मकैका खोसेलाजस्ता वस्तुबाट विभिन्न घरायसी सामग्री बनाउँदै आएकी गुरुङले परीक्षणका रुपमा अलैंचीको सराबाट पनि त्यस्ता सामग्री बनाएको र पहिलो पटक नै सफल भएकोले यसलाई निरन्तरता दिएको बताइन् । उनले अलैंचीका खेर जाने बोट किसानका लागि आम्दानीको दर्बिलो स्रोत बन्नसक्ने बताइन् । उनले ताप्लेजुङका सो सीप सिकाएर धेरै महिलालाई काम दिएको पनि उल्लेख गरिन् ।

अलैंचीको सराबाट पिर्का, झल्ला, साना–साना डालो, कप, पर्सजस्ता सामग्री बनाउन सकिने छ भने त्यस्ता सामग्री निकै टिकाउ र बलियो पनि हुने गरेको गुरुङको भनाइ छ ।
गुरुङले देशका विभिन्न मेला–प्रदर्शनीमा अलैंचीको सराबाट निर्मित हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गर्ने गरेपछि यसतर्फ सरोकारवाला निकायहरुले पनि चासो दिएका छन् ।
यसैक्रममा, उनै माया गुरुङलाई प्रशिक्षक राखेर इलाममा यससम्बन्धी तालिम शुरु गरिएको छ । प्रदेश १ को भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले नेपाल अलैंची व्यवसायी महासंघको समन्वयमा इलामको मंगलबारेमा मंगलबार शुरु गरेको ९ दिने आधारभूत तालिममा प्रशिक्षण लिन इलामको दूरदराजबाट आएका अलैंची किसान महिलाको उल्लेख्य सहभागिता रहेको छ । फोहोरलाई मोहोरमा बदल्नसक्ने विश्वासका साथ तालिममा सहभागी हुन घण्टौं पैदल यात्रा गरेर आफूहरु आएको सहभागीहरुले बताएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मंगलबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले प्रशिक्षण उद्घाटन गरेका थिए । उनले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा परिणत गर्दै अलैंचीका खेर जाने गरेका बोटलाई आयआर्जनको माध्यम बनाउन सहभागीहरुलाई आग्रह गरे । उनले तालिम उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै त्यसो हुनसके थप कार्यक्रम सञ्चालन गरिने बताए ।
महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले सञ्चालन गरेको उद्घाटन समारोहमा महासंघका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, महासंघका उपाध्यक्ष इन्द्रचन्द जिन्दल, महासंघकी महिला समिति संयोजक सुष्मा पौडेल, केन्द्रीय सदस्य एवम् अलैंची निर्यातकर्ता सुजित वंशल, तालिम केन्द्र प्रमुख अरुणकुमार घिमिरेलगायतले तालिम प्रभावकारी हुने र सहभागी महिलाहरुले अलैंचीको बोटबाट निर्मित हस्तकलाका सामग्रीको व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।यसप्रकारको तालिम अन्य जिल्लामा पनि सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका थिए ।
पछिल्लो केही वर्षयता बहुमूल्य कृषि उपज अलैंचीको मूल्यमा लगातार गिरावट आउँदा निराश बनेका किसान तथा व्यवसायीलाई यो सीपले विकल्प दिनसक्ने महासंघका अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्