बिर्तामोड, फागुन २१ । उद्योग, व्यवसाय तथा श्रम क्षेत्रमा उत्पन्न हुने विवाद तथा समस्यालाई आपसी छलफल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र व्यापार क्षेत्रमा काम गर्ने श्रमिक कामदारहरुको हितमा क्रियाशील अन्तर्राष्ट्रिय ट्रेड युनियन ‘युएनआई ग्लोवल युनियन’सँग आबद्ध युनिकम नेपालबीच भएको छलफलमा त्यस्तो बताइएको हो ।
छलफलका सहभागीले उद्योगी व्यवसायी तथा आबद्ध श्रमिक कामदारको दुईपक्षीय हितलाई सर्वोपरि ठानी सुमधुर सम्बन्ध स्थापित गर्दै आउन सक्ने विवादलाई संवादका माध्यमबाट समाधान गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यसका लागि महासंघ र युनिकम नेपालबीच सम्झौता गरेर अघि बढ्ने बताइएको छ । उद्योग व्यापार क्षेत्रमा धेरैखाले विवाद आउने गरेको र त्यसमा पनि श्रमसम्वन्धी विवादका कारण ठूला समस्या आउने गरेकालाई अब उक्त क्षेत्रलाई विवादरहित बनाउन अग्रसर हुनुपर्ने बताइएको छ ।

महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले उद्योग, व्यापार क्षेत्रलाई विवादरहित बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि युनिकमसँग सहकार्य गरेर जाने बताएका छन् । युनिकमका राष्ट्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले दुईपक्षीय हितका लागि सम्झौता गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए । महासंघका अध्यक्ष ढकालले उक्त प्रस्ताव स्वागतयोग्य भएको भन्दै सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाए । युनिकमका अध्यक्ष पौडेलले देशव्यापीरुपमा श्रम क्षेत्रको विवाद समाधानका लागि सामाजिक संवादको माध्यमबाट अघि बढ्न लागिएको जानकारी दिए । यस कार्यले उद्योगी, व्यवसायीका साथै आबद्ध कामदार श्रमिकको हित हुने उनको भनाइ छ ।

महासंघका अध्यक्ष ढकालले बन्द, हड्ताल, राजनीति र अन्य प्रभावबाट उद्योग, व्यवसायमा ठूलो असर परेको र अहिले मुलुकको आर्थिक वृद्धि दर ऋणात्मक ढंगले अघि बढ्नु दुःखद् भएको बताए । उनले लगानी तथा उद्योगी, व्यवसायीका लागि अनुकूल वातवारण बनाउन राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण समेत गराए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश महासंघका सल्लाहकार उमेश डालमिया, महासंघ प्रदेश नं. १ का कार्यकारिणी सदस्यहरु कुमार भट्टराई, भुपाल कटुवाल, कुमारमणि पोखरेल, विनोद बस्नेत, पशुपति बराल, दिपक पाण्डे, भेषराज भण्डारी (प्रशान्त)ले व्यापार क्षेत्रमा उत्पन्न हुने श्रम विवादलाई समाधान गर्न युनिकमसँगको सहकार्य आवश्यक रहेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघले गत पुस ४ गते युनिकमसँग सम्झौता गरी श्रम विवाद समाधानको अभ्यास शुरु गरिसकेको छ । उक्त कार्य प्रभावकारी भएको सम्बद्धहरुले बताएका छन् । छलफलमा युनिकमका केन्द्रिय सदस्य श्याम खड्गी, जिल्ला अध्यक्ष कृष्ण पोखरेल, पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्