बिर्तामोड, फागुन २२ । बिर्तामोड नगरपाालिका हुँदै बग्ने अदुवा खोला हनुमन्ते खोला सफाइ अभियानको चौथो हप्तामा संस्थागत सहभागितामा बृद्धि भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेका टोलहरु र सरसफाइ स्वयंसेवीहरु रहेको अदुवा खोला सरसफाइ व्यवस्थापन समिति गठन गरी सफाइ अभियान थालनी गरिएको थियो ।
शनिबारको खोला सफाइमा अदुवा खोला सरसफाइ समिति, बिर्तामोड सफाइ अभियान, यूनिक स्वयंसेवक नेपाल, सामुदायिक प्रहरी, अनारमनी प्रहरी चौकी, विराट सामुदायिक अध्ययन केन्द्रका साथै रेयूकाई नेपाल, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईको समेत संस्थागत सहभागिता रहेको सफाइ अभियान संयोजक भरत बस्नेतले जानकारी दिए । रेयूकाई नेपालको तर्फबाट सफाइका लागि आवश्यक पञ्जा र मास्क सफाइ अभियानलाई प्रदान गरिएको थियो ।
वडा नं. १ बाट थालनी गरिएको अभियान क्रमशः अन्य वडाहरुमा समेत विस्तार गरिने वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । प्रत्येक शनिबार विहान साढे सात बजेदेखि अदुवा खोला सफाइ गरिन्छ । धेरै समयपछि अदुवा खोला सफाइ अभियानलाई सुचारु गरिएको हो । खोला अत्यन्त दुर्गन्धित बनेपछि सरसफाइ अभियन्ताहरुले सरसफाइमा चासो देखाएका हुन् ।
अदालतमा उपस्थित हुन ३ नगरपालिकालाई आदेश
फोहोरमैला विसर्जनको दीर्घकालीन प्रबन्ध नगर्ने, जथाभावी फोहोर फाल्ने, वातावरण प्रदुषित बनाइ मानव स्वास्थ्यमा खेलवाड गर्ने झापाका तीन नगरपालिकालाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ । जनस्वास्थ्यका क्षेत्रमा काम गर्न चुकेका मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाले न्यायालयको कठघरामा उभिनु पर्ने भएको हो ।
मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले गत सोमबार ती नगरपालिकाले वातावरणमा प्रदूषण फैलाएको दावीसहित विराटनगर उच्च अदालतको इलाम इजलासमा रिट निवेदन दायर गरेका थिए। सो रिटलाई अदालतले अग्राधिकार दिँदै परमादेश किन जारी नगर्ने भन्दै विपक्षीलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको हो।
प्रसाईंले मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकासहित प्रदेश १ को उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिएका थिए । उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश विष्णुप्रसाद कोइरालाले सोमबार नै पहिलो सुनुवाइ गर्दै मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकालाई अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ । तर, अहिलेसम्म अदालतमा हाजिर नभएको जनाइएको छ । ती नगरपालिका र विपक्षीले हाजिर हुन आनाकानी गरिरहेका निवेदक प्रसाईंले गुनासो गरे । जनसंख्याको हिसाबले मेचीनगर मुलुककै ठूलो नगरपालिका हो । यो पूर्वी सीमानाका पनि हो । भद्रपुर मुलुककै पुरानो मध्येको एक र झापाको सदरमुकाम रहेको नगरपालिका हो । बिर्तामोड मेचीको प्रमुख व्यापारीक केन्द्र र तीव्र शहरीकरण भइरहेको नगरपालिका हो । मुलुकमा नै भिन्न महत्व र फरक पहिचान बोकेका नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा हेल्चक्रयाइँ गरेपछि अदालत जानुपरेको निवेदक प्रसाईंको भनाइ छ । अदालतमा रिट हाल्नुअघि प्रसाईंसहित भद्रपुर–९ का कमलप्रसाद राजवंशीले ती नगरपालिकामा ध्यानाकर्षण पत्र दिएका थिए । फोहोरमैला व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको विषयमा ध्यानाकर्षण गराएर आफूहरूले नगरपालिका धाएको राजवंशीले बताए। आफूहरूको प्रयत्नलाई बेवास्ता गरिएपछि अदालत जानुपरेको उनीहरूको भनाइ छ । निवेदकको मागबमोजिम आदेश हुनुपर्ने जिकिरसहित मुद्दाका अधिवक्ता हेमकला कट्टेल र पदमबहादुर श्रेष्ठले बहस गरेका थिए ।बहसको सुनुवाइ गर्दै विषयवस्तुको सम्वेदनशीलतालाई दृष्टिगत गरी अदालतले मुद्दालाई अग्राधिकार दिने आदेशसमेत गरेको अधिवक्ता कट्टेलले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्