बिर्तामोड , फागुन २३ । झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा शुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । पहिलो दिन तीनवटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कनकाई नगरपालिकाले कमल गाउँपालिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।त्यस्तै दोस्रो खेलमा शिवसताक्षी नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई टाइब्रेकरमा हराएको छ । निर्धारित समयभित्र दुवै टीमबाट गोल हुन नसकेपछि खेलाइएको टाइब्रेकरमा शिवसताक्षी ४–२ गोल अन्तरले विजयी भएको हो । त्यसैगरी तेस्रो खेलमा झापा गाउँपालिकालाई १–० ले हराउँदै अर्जुनधारा नगरपालिका विजयी भएको छ । विजयी टीमहरु दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत भोलि चार खेल हुँदैछ । विहान ११ बजेदेखि शुरु हुने पहिलो खेलमा भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिका भिड्दा दिउँसो १ बजेदेखिको दोस्रो खेलमा मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी दिउँसो २.३० बजेदेखि तेस्रो खेल शुरु हुनेछ । जसमा गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । भोलि नै हुने अन्तिम खेलमा दमक नगरपालिका र हल्दीबारी गाउँपालिकाबीच प्रतिष्पर्धा हुने भएको आयोजक बिर्तामोड नगरपालिकाले जनाएको छ । जिल्लाका १५ वटै पालिकाले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुने भएको छ । उपाधि विजेता पालिकाले प्रतियोगिता आयोजना गर्नुपर्ने नियम रहेको छ । दमक नगरपालिकाले पहिलो प्रतियोगिता आयोजना गरेको थियो ।त्यस वर्ष कनकाई नगरपालिकाले उपाधि जितेपछि अर्को वर्ष प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा भद्रपुर नगरपालिका विजेता बनेको थियो । भद्रपुरले आयोजना गरेको प्रतियोगितामा बिर्तामोड नगरपालिका विजयी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्