भद्रपुर, फागुन २४ । १ सय ११औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा दुईजना असल आमा र बुहारीलाई सम्मान गरिएको छ ।
चन्द्रगढी सेवा समाजद्वारा सोमवार भद्रपुर ९ डाँगीवारीमा आयोजित कार्यक्रमकाबीच विगत २०६७ सालदेखि निरन्तर रुपमा आफ्ना अपाङ्ग ८५ बर्षिय ससुराको सेवामा अहोरात्र खटिरहेको भन्दै एक असल बुहारीको रुपमा भद्रपुर १० निवासी अम्बिका घिमिरेलाई सम्मान गरिएको हो ।
त्यसैगरी जेष्ठ आमा सम्मानबाट भद्रपुर ९ निवासी ८६ बर्षिया भीमकुमारी पोखरेललाई सम्मान गरिएको छ ।
उनीहरु दुवैलाई कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै श्रेष्ठले समाज परिवर्तनको सन्दर्भमा महिलाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुपर्नेमा जोड दिदै अहिले पनि समाजबाट महिला हिंसाको अन्त्य हुन नसकेको बताइन् ।
उपप्रमुख श्रेष्ठले विभेदकारी समाजको अन्त्य गर्न सबै नारीहरु एकजुट भएर लाग्नु पर्नेमा समेत जोड दिइन् ।
सोही कार्यक्रमका बीच नेपाल वार एशोसिएसन झापाकी सहसचिव कानुन व्यवसायी देवी निरौलाले महिला हक अधिकारका विषयमा कानुनी सचेतना प्रदान गरेकी थिइन् ।
कमलप्रसाद अधिकारीको अध्यक्षता तथा देवी अधिकारीको संचालनमा भएको कार्यक्रममा भद्रपुर १० का कार्यवाहक वडा अध्यक्ष तुलसी पोखरेल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, समाजसेवी गोमा भट्टटराईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत नयाँनाथ पाण्डेले गरेका थिए ।