बुधबारे, फागुन २४ । बुधबारे जेसीजले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अतिविपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्न तथा पौष्टिक आहार प्रदान गरेको छ ।

सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लोहार विक र उनको नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो । बुधबारे जेसीजले १२ हजार मुल्यबराबरको खाद्यान्न सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट सुत्केरी तथा नवजात शिशुलाई डिस्चार्ज गर्ने रकम नभएपछि ती महिलालाई स्थानीयले रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गरेका थिए । परिवारमा खानेकुरा नभएपछि जेसीजले सहयोग गरेको कार्यक्रम संयोजक रविन आचार्यले बताए ।
ती सुत्केरी महिलाको परिवारलाई बुधबारे जेसीजले एक महिना पुग्ने चामल, दाल, तरकारी, फलफूल, घ्यू, मासुलगायतका खाद्य सामग्री प्रदान गरेको हो । सुत्केरी महिलालाई एक महिनाका लागि गाईको दुधको व्यवस्थापन पनि गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले जानकारी दिए । साथै बच्चाका लागि आवश्यक पर्ने सामग्रीहरु पनि प्रदान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे, विनोद रिजाल, सदस्यहरु विनोद नेम्बाङ, राज पौड्याल, सुरज लिम्बु, दिनेश खतिवडा, बिष्णु लामिछानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्