झापा, फागुन २५ । अझै पनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनावारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने अबस्था कायमै रहेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर इलेक्ट सन्तोष रिजालले बताए ।

कतिपय विद्यालयमा छात्रा मैत्री शौचालय नहुनु, शौचालय भएपनि व्यवस्थित र सुरक्षित नहुँदा विद्यालय गएका किशोरीहरुलाई समस्या हुने गरेको रिजालको भनाई छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैजसो बालबालिकाहरुलाई अहिले पनि सुरक्षित शौचालयको व्यवस्था नहुँदा छात्रा मात्र होइन, छात्रहरु पनि समस्यामा पर्ने गरेका छन् । यसैलाई मध्यनजर गर्दै रोटरी क्लव अफ बिर्तामोडले झण्डै दश लाख रुपैयाँ खर्च गरी महेन्द ्ररत्न माध्यमिक विद्यालयमा छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको छ ।
बिर्तामोड नगरपालिका – ३ बिर्ताबजारमा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयसहित महालक्ष्मी विकास बैंक, नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली, रोट्रयाक क्लव अफ बिर्तामोडको आर्थिक सहयोगमा रोटरी क्लव अफ बिर्तामोडले छुट्टै छात्रा अपाङ्ग मैत्री शौचालय निर्माण गरेको हो ।
किशोरीहरुलाई महिनावारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने गरीको व्यवस्थासहितको नयाँ प्रविधिको शौचालय निर्माण गरिएको विद्यालयलाई शौचालय हस्तान्तरण समारोहमा रोटरी क्लव अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट विनोद बस्नेतले बताए ।

कोभिड– १९ को बढ्दो संक्रमणका कारण समयमा शौचालय निर्माण गर्न नसकिएको बताउँदै रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईले ढिलागरी शौचालय तयार गरिएपनि शौचालय आधुनिक र पूर्णरुपमा अपाङ्ग मैत्री रहेको बताए ।
शौचालय हस्तान्तरण समारोहमा शौचालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महालक्ष्मी विकास बैंक बिर्तामोड शाखा प्रमुख विजय कार्की, महेन्द्ररत्न विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजंग थापा, रोट्रयाक क्लव अफ बिर्तामोडका निवर्तमान अध्यक्ष राज मुखिया र अध्यक्ष प्रवास थापा मगर रहेका छन् ।
शौचालय हस्तान्तरण समारोहमा उद्योग वाणिज्य संघ बिर्तामोडका नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटी, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, रोटरी क्लव अफ बिर्तामोडकी निवर्तमान अध्यक्ष निकिता गिरी , सञ्जय गिरीलगायतले बोलेका थिए । कार्यक्रम रोटरी क्लव अफ बिर्तामोडका सचिव सञ्जीव घिमिरेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्