धरमपुर, फागुन २५ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना धान ब्लक विकास कार्यक्रमअन्तर्गत झापा धरमपुरका कृषकहरुलाई यान्त्रिक उपकरण वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापाले शिवसताक्षी–१ धरमपुर चौकस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाका कृषकहरुलाई यान्त्रिक उपकरण वितरण गरेको हो । हाम्रो हातेमालो कृषि सहकारी संस्थाका अध्यक्ष एवम् कृषि प्राविधिक ताराप्रसाद गौतमका अनुसार सिंचाईको लागि मोटर १६ थान, पावर टेलर ३ थान, स्प्रे टयाँकी १५ थानसहित अन्य ४ थान उपकरणहरु कृषकहरुलाई वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना धान ब्लक विकास कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र झापाले १२ लाख ९९ हजार ९ सय ९६ रुपैयाँ र हाम्रो हातेमालो कृषि सहकारी संस्थाबाट नौ लाख ३५ हजार ४ सय ७९ रुपैयाँसहित जम्मा २२ लाख ३५ हजार ४ सय ७५ रुपैयाँमा खरिद गरेर ती उपकरणहरु वितरण गरिएको अध्यक्ष गौतमले बताए ।

उनका अनुसार संस्थाबाट शिवसताक्षी–१, २ र ३ (साविक धरमपुर) का कृषकहरुका लागि यान्त्रिक उपकरणहरु वितरण गरिएको हो । यसअघि संस्थाले पावर टेलर, धान रोप्ने, बिषादीका लागि प्रयोग गरिने स्प्रे ट्याँकीलगायतका उपकरणहरु वितरण गरिसकेको छ ।
उपकरण वितरण गर्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल स्हिंले समयको उचित व्यवस्थापन गर्दै थोरै जमिनमा धेरै उत्पादन गर्न अहिले नयाँ आधुनिक उपकरणहरुको प्रयोग गर्न आवश्यक रहेको बताए ।कार्यक्रममा कृषि ज्ञान केन्द्रकी बाली बिकास अधिकृत एन्जिना खड्का, शिवसताक्षी–१ का वडा अध्यक्ष सुवास राई, संस्थाका उपाध्यक्ष श्याम राई, सल्लाहकार अनिलदेब राई, लयप्रसाद गौतमलगायत सञ्चालक समिति सदस्य, सल्लाहकार सदस्य, शेयर सदस्यहरु र कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्