बिर्तामोड , फागुन २५ । बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशीको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न महिलाहरुले दवाव दिएका छन् ।

हत्या भएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रहरीले हत्यारा अझै पक्राउ गर्न नसकेपछि महिलाहरुले दवाव दिएका हुन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनो राजवंशीको घरमै मेची महाकाली बुहारी संयुक्त आवाजले दवावमूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागीहरुले तीन महिना २० दिन भइसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु प्रहरीको कमजोरी भएको बताए । उनीहरुले अपराध अनुसन्धानमा प्रहरीले ढिलाइ गरिरहेको गुनासो गरे । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले प्रहरीले शिकारी कुकुर ल्याएर अनुसन्धान गरेपनि हत्यारा पत्ता लगाउन नसकेको बताउँदै यसरी चुपचाप बस्दा घटना नै सेलाएर अपराधीले अर्को अपराध गर्न सक्ने चिन्ता व्यक्त गरे । उनले स्थानीवासीहरुले आफूसंग भएका सूचना र जानकारी प्रहरीलाई दिएर सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा समुन्नत नेपालकी कोपिला बस्नेतले प्रहरीले घटनास्थललाई सुरक्षित राख्न नसक्दा प्रमाण सुरक्षित रहन सकेकोमा शंका व्यक्त गरिन् । उनले उर्लाबारीको घटनाको उदाहरण दिदै दवाव नदिइकन दिनोको हत्याको छानविन पनि प्रहरीले नगर्ने बताइन् । मृतक दिनोका पति विरवल राजवंशीले आफ्नो श्रीमतीको हत्यारा पत्ता लगाउने विषयमा प्रहरीले बेवास्ता गरिरहेको आरोप लगाए । उनले आफूलाई श्रीमतीको पोष्टमार्टम रिपोर्ट पनि हेर्न नदिएको गुनासो गरे । कार्यक्रममा स्थानीय समाजसेवी शंकर रिजाल , मेची महाकाली बुहारी संयुक्त आवाजका सल्लाहकार रन्जु प्याकुरेललगायतले बोलेका थिए ।संस्थाकी कोषाध्यक्ष प्रमिला सुवेदीले संस्थाको चिनारी प्रस्तुत गरेको कार्यक्रमको उद्धेश्यमाथि सीमा अधिकारीले प्रकाश पारेकी थिइन् । संस्थाकी अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कविता थापाले गरेकी थिइन् ।
गत पुष ४ गते राति दिनोको हत्या भएको थियो । विरवल राजवंशीकी श्रीमती दिनो हत्या भएको भोलिपल्ट विहान खेतमा मृत फेला परेकी थिइन् । बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन ती महिला घरबाट हिडेकी थिइन् ।त्यसपछि बेपत्ता भएकी उनको भोलिपल्ट विहान लाश फेला परेको थियो ।
जगत राजबंशीको खेत लिजमा लिई ३ बर्षदेखि उनीहरुले कुखुरा फार्म संचालन गर्दै आएका छन् । त्यही फार्ममा श्रीमानलाई खान पुर्याउन जान्छु भनी खाना लिई हिडेकोमा फार्ममा समेत नपुगेको र राति अबेरसम्म घर फर्की नआएकाले खोजी गर्दा फेला नपरी भोलिपल्ट बिहान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा लाश फेला परेको थियो । घटना भएको भोलिपल्टदेखि अनुसन्धान जारी राखेको बताउने प्रहरीले हत्यारा अझै पत्ता लगाउन नसकेको हो । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । हामीले अनुसन्धान जारी राखेका छौं’ थापाले भने ,‘ उहाँहरुले दवाव दिनुलाई सकारात्मक लिएका छौं ।’उनले आफूहरु छिट्टै परिणामनजिक पुग्ने जानकारी दिए । मृतकको लाशलाई धरानमा लगेर पोष्टमार्टम गरिएको थियो भने प्रहरीले शिकारी कुकुर झिकाएर अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्