दमक, फागुन २६ । झापाको दमकमा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालासहित आधा दर्जन युवा नेताहरुले पार्टी नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।

कांग्रेस झापा क्षेत्र नं ५ ले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेताहरुले कांग्रेसमा अहिलेको नेतृत्व सत्ता स्वार्थमा लिप्त हुन खोजिरहेको भन्दै तत्काल कांग्रेसले सरकार चलाउन भन्दा संगठन बनाउने योजनालाई प्राथमिकता दिनुपर्ने औंल्याए ।
उनीहरुले पार्टीभित्रको गुटलाई अधिवेशनसम्म मात्रै सीमित राख्नुपर्ने र अधिवेशनपछि नेतृत्वले सबैलाई समेटेर अघि बढनुपर्नेमा त्यसो हुन नसक्नु नै कांग्रेसका लागि दुखद भएको टिप्पणी पनि गरे ।
नेता कोइरालाले विचारको राजनीतिमा गुट हुनु स्वाभाविक भएपनि पार्टी अधिवेशनको तुस चुनावमा निकाल्ने परिपाटी ठिक नभएको बताउँदै कोईरालाले विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वाभाविक रुपमा लिने गरेको बताए । तर अधिवेशनको तुस चुनावमा निकाल्नेलाई कांग्रेस मान्ने कि नमान्ने ? भनी कार्यकर्ताहरुसंगै प्रश्न गरे ।
कांग्रेसमा पहिलो वरियताका नेता वीपी कोईराला भारतमा हुँदा दोस्रो वरियताका नेता सुवर्ण शम्सेरले राजा र भारतसंग सहकार्य गरेर जानुपर्ने र कृष्णप्रसाद भट्टराईले जेलबाटै बरु जेल बस्न तयार छु तर राजासंग घुँडा टेक्दिन भनेबाट पनि इतिहासले कांग्रेसमा फरक विचार अर्थात मतान्तर हुने गरेको स्पष्ट हुन सकिने नेता कोइरालाको भनाई छ ।
कार्यकर्ताहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै नेता डाक्टर कोइरालाले पार्टीमा विचारमाथिको बहस अहिले फरक भएर आएको पनि विश्लेषण गरे ।
कांग्रेस नेता कार्यकर्ताभित्रका अनेकन विकृतिहरुको बिषयलाई सुक्ष्म रुपमा केलाउँदै नेता कोईरालाले पार्टीका भातृ संगठनहरुको अधिवेशन समयमा नगरिनु लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक व्यवहार भनी आलोचना गरे ।
पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित हुँदै नेता कोइरालाले भने – हामी लोकतान्त्रिक हौं त भन्छौं , हाम्रो आचरण, व्यवहार लोकतन्त्रवादी छ कि छैन ? डा. कोइरालाले नेकपा फुटेर अहिले एमाले र माओवादी बन्दैमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले कांग्रेसलाई भोट देलान् भन्ने कांग्रेसले सोच्नु गलत हुने भन्दै कांग्रेसले निर्वाचन जित्नका लागि संगठन नै माध्यम भएको उल्लेख गरे । उनले भने– कम्युनिष्ट पार्टी क्याडर्स बेस पार्टी हो कम्युनिष्ट पार्टीको कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैन । कम्युनिष्ट क्याडर्सले कि त एमालेलाई भोट हाल्छ कि त माओवादीलाई ।
पाँच बर्ष ओलीले सरकार चलाउन ः डा. भण्डारी
भेलामा कांग्रेस केन्द्रीय सदस्य एवं विश्लेषक डा. चन्द्र भण्डारीले वर्तमान कम्युनिष्ट सरकारलाई पाँच बर्ष पूरा काम गर्न दिइनु पर्ने सुझाव दिए । कम्युनिष्ट पार्टीले विकास र समृद्धिका नाममा जनतालाई ढाँटेको र यथार्थमा कम्युनिष्टहरु विकास विरोधी भएको प्रमाणित गर्न पनि पूरा पाँच बर्ष कम्युनिष्ट सरकार रही रहनुपर्ने उनको तर्क थियो । डा. भण्डारीले भने – पाँच वर्ष ओलीले सरकार चलाउँदा फेरि कहिल्यै जनताले कम्युनिष्ट पार्टीलाई भोट दिने छैनन् ।
जसले धेरै अवसर पायो उसैका गुनासा धेरै ः गुरुराज घिमिरे
कार्यकर्ता भेलामा कांग्रेसका अर्का युवा नेता एवं केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसमा जसले धेरै पद र प्रतिष्ठाको लागि ठाउँ ओगटेको छ उसैले अवसर नपाएको गुनासो राख्ने गरेको बताए । घिमिरेले भने – कांग्रेसमा एउटा अनौठो छ जसले बढी अवसर पायो गुनासो उही धेरै गर्छ । कांग्रेसको इतिहासमा सुवर्णले वीपीलाई र वीपीले सुवर्णलाई अवसर दिएको इतिहास पनि रहेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई पार्टी सभापति किन नछोड्ने ? नयाँ पुस्ताबाट प्रधानमन्त्री किन नबन्ने ? ७० बर्षको हुँदासम्म कांग्रेसमा नयाँ पुस्तामै दर्ज भई राख्नु पर्ने ? मानिसको उमेर समुह अनुसार जीवनका हरेक कालखण्डका आ–आफनै महत्व रहेको चर्चा गर्दै नेता घिमिरेले चारधाम घुम्ने उमेर भएको ख्याल राख्न पनि पहिलो पुस्ताका नेताहरुलाई आग्रह गरे ।
धनराज गुरुङको प्रश्न ः घोडा चढनै हतार भो ?
कार्यकर्ता भेलालाई सक्षिंप्त सम्बोधन गरेका कांग्रेसका अर्का युवा नेता केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै कांग्रेसले सरकारमा जान हतार गर्न नहुने धारणा राखे । उनले सभापति देउवा प्रधानमन्त्री बन्न खोजेको भन्ने चर्चाहरुप्रति व्यङग्य गर्दै भने – कांग्रेसको तबेलामा घोडा छैन तर कांग्रेसलाई घोडा चढ्ने तीब्र इच्छा भएको जस्तो देखिदैंछ । कसैले घोडा चढने हतारमा खुट्टो उचालेर बसेका छन् । उनले कांग्रेस नेता कार्यकर्ताहरुलाई सामाजिक सञ्जाललाई श्रीमतीको वर्थडे वीस गर्ने र कसैको चाकडी गर्ने माध्यमका रुपमा मात्रै प्रयोग नगरी विचारको प्रवाह गर्ने माध्यमका रुपमा उपयोग गर्न पनि सुझाव दिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईँ, आमन्त्रित केन्द्रीय सदस्य दिलिप राई र जिल्ला सभापति उद्धव थापाले पनि आ–आफना धारणा राखेका थिए ।
पार्टीका झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महिला संघ नगर सभापति मन्धरा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्