बिर्तामोड , फागुन २६ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले संविधान समाप्त पार्ने खेलमा लागेका कारण नेकपा एमालेसँग सहकार्य गरेर कांग्रेस सरकारमा जान नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाको आयोजनामा आज बिहान बिर्तामोडमा पत्रकारहरुसँग बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले सर्वोच्च अदालतको दोस्रो फैसलापछि देश झन् अन्योलतातर्फ धकेलिएको बताए । कोइरालाले संसद पुनस्र्थापनाले संविधानको संरक्षण गरेपनि अन्योलता सिर्जना गरेको बताए । उनले निर्वाचनले मात्रै राजनीतिक निकास दिने धारणा राखे । ‘संसद पुनस्र्थापनापछि संविधान त बाँच्यो तर संसद चल्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमा नेता कोइरालाले भने, ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन ।’
कोइरालाले देशको अबको राजनीतिक परिवेश समाधानका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहने बताउँदै अल्पमतको सरकारले निर्वाचन मात्रै गराउन सक्ने संवैधानिक व्यवस्था रहेको जिकिर गरे । राजनीतिक संकट समाधानका लागि निर्वाचन एकमात्र विकल्प रहेको बताउँदै कोइरालाले अबको १ वर्षभित्रमा निर्वाचन नभए देश नै धरापमा पर्ने दावी गरे ।
‘संसद पुनस्र्थापनापछि नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्रीले केपी शर्मा ओलीले अब संसदबाट विश्वासको मत जितेर मात्र अघि बढ्नुपर्ने धारणा राखे । ‘ तर पुनस्र्थापित संसदको पहिलो दिनको अवस्थालाई हेर्दा संसदमा विश्वासको मत प्राप्त हुने देखिंदैन ’ उनले अगाडि भने–‘देशको निकासका लागि एक वर्षभित्रमा निर्वाचन अनिवार्य छ ।’ उनले ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा उनको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे । निर्वाचनको नेतृत्व कांग्रेसले लिनुपर्नेमा जोड दिदै. कोइरालाले कांग्रेसले मात्र निष्पक्ष निर्वाचन गराउने दावी गरे ।
नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिए । नेता कोइरालाले १४ औं महाधिवेशनको सिलसिलामा आफू जिल्ला दौडाहामा आएको बताउँदै आफू सभापतिको बलियो दाबेदार रहेको जानकारी दिए । कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले उनीसँग छुट्टै कुरा गर्ने जनाए ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको राजनीतिक संकट मोचनको दायित्व कांगे्रसको काँधमा आएको बताए । उनले ओली नेतृत्वको सरकारले अहिलेसम्मका राजनीतिक उपलब्धि समाप्त पार्ने नियत राखेको टिप्पणी गरे ।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङले कांगे्रस अहिले पनि अलमलमा रहेको बताए । दर्शक दीर्घामा बसेर कांगे्रसले गोल हान्न खोजेको भन्दै मैदानमा उत्रिन नसक्नु कमजोरी भएको नेता गुरुङले बताए । सो अवसरमा केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, लोकराज ढकाललगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा स्वागत पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई र सञ्चालन सल्लाहकार राजेन्द्र गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्