इजरायल,फागुन २६ । गत फागुन १४ गते आगलागीमा परेको तेह्रथुम फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयलाई इजरायलमा कार्यरत एक सहयोगीले भौतिक सामग्री हस्तान्तरण गरेका छन् ।

आगलागीमा परी विद्यालयका केही कोठा र भौतिक सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी पाएपछि सोही विद्यालयका पूर्वविद्यार्थी समेत रहेका देव बाँस्कोटाले करिब ५७ हजार रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गरेका हुन् । उनले व्यक्तिगत रूपमा सामाजिक तथा शैक्षिक उत्तरदायित्व सम्झेर प्रदान गरेको बताएका छन् ।
समाजसेवी बाँस्कोटाले स्थानीय कृष्ण न्यौपाने र शिव न्यौपानेमार्फत विद्यालयलाई २० थान प्लास्टिक कुर्सी, १ थान स्टिल टेबल, १ थान घुम्ने कुर्सी र १ थान स्टील दराज विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तवीर लिम्बूलाई मंगलबार हस्तान्तरण गरेका हुन् । सिद्धकाली माध्यमिक विद्यालयमा गत फागुन १४ गते राति अचानक आगलागी हुँदा विद्यालयको प्रशासनिक भवन पूर्णरूपमा जलेर नष्ट भएपछि विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको थियो । विद्यालयको विपत्तिमा स्वतस्फूर्त सहयोग गरेको बताउने बाँस्कोटाले प्रशासन संचालनमा सहज होस् भनी उक्त सामग्री हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।
दाता बाँस्कोटाको अगुवाईमा एक वर्षअगाडि सोही विद्यालय परिसरमा १३ लाख रुपैयाँ खर्चेर एक सरस्वती मन्दिर र मन्च निर्माण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्