अर्जुनधारा,फागुन २६ । लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौद्धिक व्यक्तिहरुले व्यावसायिक कृषि शुरु गरेका छन् ।

शिक्षित वर्ग कृषि पेशामा लाग्दा नयाँ प्रविधिका साथ उत्पादनमा उल्लेखनीय वृद्धि हुने सोच राखेर प्राध्यापकहरु केशव ढुङ्गेल, जीवन रिजाल, शिक्षकहरु रुक्मिणा ढुङगाना, टिका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायणी निरौला, मधुसुधन रिजाल, राधिका कोईराला, मोहनप्रसाद रिजाल, कृषि पेशामै रहेकी निर्मला नेपाल र चार्टर एकाउण्ट (सिए) प्रगति रिजालले मिलेर अर्जुनधारा–१० श्रीराम चोकमा पूर्ण वहुआयामिक कृषि उद्योग संचालनमा ल्याएका हुन् ।
दुई विगाह क्षेत्रफलमा सुरु गरिएको कृषि परियोजनामा हाल ३० वटा ठूला टनेलमा च्याउ खेती गरिएको छ । त्यसैगरी सुरुवाती चरणमा ड्रागन फुट खेती, अग्र्यानिक तरकारी र गडेउला मल प्रशोधनजस्ता काम सुरु गरिएको छ । थोरै लगानी गरेर साझेदारी योजनामा पनि राम्रै आयआर्जन गर्न सकिने बुझेर ११ जनाले जनही दुई लाखका दरले लगानी गरेका छन् । आगामी योजना अनुसार लगानी बढाउँदै जाने सोच रहेको संचालक मधुसुधन रिजालले बताए ।
६ महिनाअघि जमिन व्यवस्थापन र पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । सुरुवातको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको अर्का संचालक सदस्य राधिका कोईरालाले बताइन् ।

अनौपचारिक रुपमा संचालनमा ल्याईएको पूर्व वहुआयामिक कृषि उद्योगको सोमबार विधिवत उद्घाटन गरिएको छ ।
कृषि उद्योगका अध्यक्ष मोहनप्रसाद रिजालको अध्यक्षतामा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले कृषि उद्योगको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा–१० का वडाध्यक्ष भोला गौतम, कृषि अर्थ विज्ञ शालिकराम भट्टराई, पशुपन्छी विभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटालगायतले मन्तव्य राखेका थिए ।
कृषि उद्योगका सचिव केशव ढुङगानाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा टीकादेवी रिजालले स्वागत र कार्यक्रम संयोजक जीवन रिजालले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्