भद्रपुर, फागुन २७ । लेखापढी कानुन व्यवसायीहरुले वर्तमान समयमा आफूहरुको व्यवसाय प्रविधिमैत्री बन्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुर झापाको १४ औ वार्षिक साधारणसभाको अवसरमा बिहीवार आयोजित कार्यक्रमका सहभागीहरुले लेखापढी कानुन व्यवसायीहरु समयसापेक्ष प्रविधिमैत्री बन्नु पर्ने बताएका हुन् ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष तेजप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का संयोजक पुरुषोत्तम अधिकारीले विगतमा घँुडामा राखेर लेखापढी गर्न सुरु गरिएकोमा समय परिवर्तनसंगै अब कम्प्युुटराईज पद्धतिमा जानु पर्ने बताए । उनले एशोसिएसनलाई जीवित राख्न र व्यवसाय चलाउन प्रविधिमैत्री बन्नुको विकल्प नभएको स्पष्ट पारे । मालपोत कार्यालय भद्रपुर झापाका प्रमुख योगेन्द्रप्रसाद दुलालले एशोसिएसनले तोकेको दर रेटभन्दा माथि गएर सेवाग्राहीवाट रकम असुल्ने व्यवसायीको लाईसेन्स खारेजसम्मको कारवाही गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष लोकनाथ भट्टराईले संस्थाको बार्षिक सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अहिलेसम्म गरेको गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा मालपोत कार्यालय भद्रपुर झापा , वर्ष उत्कृष्ठ लिखदकर्ता मुरारी न्यौपाने र देशभरिका एशोसिएसनहरुप्रति देखाएको योगदानको उच्च कदर गर्दै केन्द्रीय सदस्य अर्जुनप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा २०७६ सालको एसईई परीक्षामा व्यवसायी सन्ततिमध्येबाट उत्कृष्ठ अंक ल्याई उतिर्ण हुने छात्रछात्राहरु रोशन भुजेल, अपेक्षा सिग्देल, र मुकन्द घिमिरेलाई नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य रमेश पोखरेल, सचिव युवराज कार्की, अनुशासन समिति सदस्य हरि पोखरेल, सरोज घिमिरे, सुशिल निरौला, कृष्णप्रसाद ढुङ्गानालगायतले मन्तव्य राखेका थिए । अध्यक्ष भट्टराईको अध्यक्षता तथा सचिव लावण्यकुमार पोखरेलको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष महेश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्