अर्जुनधारा, फागुन २७ । झापाको अर्जुनधारा जलेश्वरधाममा आज महाशिवरात्री पर्वमा ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुँदैछ ।

महाशिवरात्री पर्वका अवसरमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधाममा तीन दिन अघिदेखि विविध कार्यक्रम हुँदै आएको छ । ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत आज अन्तिम दिन ताण्डव नृत्य तथा भजन गायन प्रतियोगिता हुन लागेको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए ।आज सन्ध्याकालिन विशेष सांस्कृतिक कार्यक्रमअन्तर्गत प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य र एकल शिव भजन गायन प्रतियोगिता हुने समितिका अध्यक्ष नविनकुमार गट्टानीले बताए । भगवान शिवलाई प्रसन्न गराउन र पहिलो नृत्यको रुपमा मानिएको ताण्डव नृत्यको महत्वबारे सबैलाई बुझाउन उक्त प्रतियोगिता प्रदेशमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष गट्टानीले दावी गरे ।एकल ताण्डव नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही पाँच हजार प्रदान गरिने सांस्कृतिक कार्यक्रमका संयोजक देवीभक्त श्रेष्ठले जानकारी दिए ।संयोजक श्रेष्ठका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही दुई हजार प्रदान गरिने छ । दुवै प्रतियोगिताको अडिसन २५ र २६ गते भइसकेको छ ।अडिसनबाट अन्तिम १० जना छनोट भएका छन् । जसमध्ये ५ जना पुरस्कृत हुनेछन् । यस कार्यक्रम सम्पन्न गर्न कम्तीमा ५ लाख रुपैयाँ खर्च हुने अध्यक्ष गट्टानीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्