बिर्तामोड, फागुन २७। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ ।
विहीवार पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
महासंघ झापाका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनोट समितिका सदस्यहरु महासंघका उपाध्यक्ष एकराज गिरी र भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा भएको बैठकले पुरस्कृत व्यक्तित्व छनोट गरेको हो ।
७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् ।
केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बीच वितरण गरिने बताइएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ । पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतिराम भट्टको स्मृतिमा मोति पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्