दमक, फागुन २८ । मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्यु भएको छ ।

दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा हिजो बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन् ।
इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा हिजो वेलुका ९ .१० मिनेट बजे पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेका थिए । दुर्घटनामा सख्त घाईते भएका स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गंभीर घाईते भएका मोटरसाईकल चालक दमक ९ का अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पठाईएको प्रनाउ कार्कीले वताए । घाईते सुन्दासको अवस्थामा समेत जटिल भएको बताईएको छ ।