भद्रपुर, फागुन २८ । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाको सहजीकरणमा कचनकवलको सातवटै वडामा छुट्टाछुट्टै रुपमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम सम्पन्न भएको हो । क्लिन झापाले कोभिड १९ का कारण स्थगित भएको गत वर्षकै कार्यक्रमलाई यस वर्ष निरन्तरता दिएको संस्थाका सचिव रुद्रबहादुर न्यौपानेले बताए ।
शुक्रबार कचनकवल वडा नं ३ मा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष विजयकुमार राजवंशीको अध्यक्षतामा आयोजित ‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समदायको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा संस्थाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा, शौचालय एक फाइदा अनेक’ र ‘कोभिड–१९ ले पारेको असर र अपनाउनुपर्ने सावधानी’ अध्यक्ष शान्ति उपाध्यायले खानेपानीसम्बन्धी र उपाध्यक्ष सन्तोष न्यौपानेले ‘फोहोरमैला व्यवस्थापन’ र ‘पूर्ण सरसफाइ’का विषयमा प्रस्तुति दिएका थिए ।
सोही कार्यक्रम बिहीबार वडा नं २ मा वडाध्यक्ष मेखबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अरु वडामा यसअघि नै कार्यक्रम सम्पन्न भएको क्लिन झापाका सचिव एवम् सरसफाइ अभियन्ता रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, टोल विकास संस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको न्यौपानेले बताए । अब कचनकवलका पाँचवटा विद्यालयमा यो कार्यक्रम गरिने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्