झापा , फागुन २९ । रुद्रप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नेपाल बाल संगठन झापा शाखाको जिल्ला सभा सम्पन्न भएको छ ।

भद्रपुरस्थित संगठनको सभाहलमा भएको सभाले अध्यक्षसहित १० जनाको जिल्ला कार्यसमिति चयन गरेको हो । बाँकी १ सदस्य केन्द्रीय बाल संगठनका अध्यक्षले मनोनयन गरी ११ सदस्यीय संगठनको जिल्ला कार्यसमितिलाई पूर्णता दिईने जनाईएको छ । यसअघि पनि सिटौलाकै नेतृत्वमा ३ सदस्यीय तदर्थ समिति रहेको थियो । नवगठित संगठनको उपाध्यक्षमा फडिन्द्र दहाल, सचिवमा रोशन लामा र कोषाध्यक्षमा लोकमाया ढुंगाना चयन भएका छन् ।
त्यस्तै संगठनको कार्यसमिति सदस्यमा सृजन घिमिरे, गोपाल सुब्बा, ज्ञानु थापा, खगेन्द्र आचार्य, चेतना निरौला र कोसिस घिमिरे निर्वाचित भएका छन् ।
२०२१ सालमा तत्कालीन रानी रत्न राज्यलक्ष्मी शाहको अध्यक्षतामा स्थापना भएको संगठनको देशका सबै जिल्लामा संरचना रहेको कार्यक्रममा जानकारी दिईएको छ ।
नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवगठित कार्यसमितिलाई राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, प्रदेश सभा सांसद बसन्तकुमार बाँनिया, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष गौरव सुब्बालगायतले शुभकामना दिएका थिए । प्रेस काउन्सिल सदस्य गणेश पोख्रेलले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको कार्यक्रममा स्वागत रोशन लामाले गरेका थिए । संगठनको विषयमा प्रकाश पार्दै अध्यक्ष सिटौलाले संगठनको नाममा भद्रपुरमा रहेको १ विगाह जग्गा र भवनको संरक्षण र प्रयोगका साथै झापा गाउँपालिकामा रहेको ७ विगाह जमिनको खोजी गरी संस्थाको प्रयोगमा ल्याउने प्रारम्भिक योजना रहेको बताए । त्यस्तै बालबालिकाको सर्वाङ्गिंण विकासमा संगठनले कार्ययोजना बनाएर काम गर्ने उनले बताए ।