सपना आचार्य,
माई इलाम , फागुन २९ । गत फागुन २१ गतेबाट सञ्चालित वडास्तरीय प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको उपाधि माई –४ र ७ ले हात पारेका छन् ।

युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा राष्ट्रियस्तरको खेलाडी छनोटको उद्देश्यसहित माई–४ को शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न पुरुष फुटवलको फाइनल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–९ लाई टाईब्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै उपाधि हात पारेको हो ।
सो खेलमा माई–४ का हरि मगर र बिशाल खवासले गोल गरेका थिए भने माई–९ का तर्फबाट विमल साउदेन र दिपेश मगरले जवाफी गोल फर्काएका थिए । निर्धारित समयमा २–२ को गोलको बराबरी भएपछि टाईब्रेकरमा माई–४ ले उपाधि हात पारेको हो ।
त्यस्तै महिला फुटवलको फाइनलमा भने माई–७ ले माई–१ लाई टाईव्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै उपाधि हात पारेको आयोजक कमिटीका अध्यक्ष कुमार लिम्बुले जानकारी दिए । सुखानी शहीदको ऐतिहासिक स्थलको संझनामा संचालित वडास्तरीय प्रतियोगितामा माईका पुरुष १० टीम र महिला १० टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजयी, उपबिजयी टीमलाई पुरस्कारसहित विभिन्न विद्यामा सम्मान तथा पुरस्कार प्रदान गरिएकोे छ । पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेता टीमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जनाईएको छ । संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न फाईनल खेलमा पुरुषतर्फ माई–४ का खेलाडीहरु बेष्ट गोल किपर विमल लिम्बु, बेष्ट मिड फिल्डर हरि मगर, बेष्ट डिफेन्डर आयुष बुढाथोकी, मेन अफ द टुर्नामेन्ट विशाल खवास भएका थिए भने हाईस्कोरर माई–८ का शेषुहाङ्ग चेम्जोङ भए । त्यस्तै महिलातर्फको प्रतियोगितामा माई–७ का खेलाडीहरु बेष्ट गोल किपर सबिता लिम्बु, बेष्ट मिड फिल्डर रोजिना राई, बेष्ट डिफेन्डर सोनी लिम्बु भएकी थिईन् भने माई–१ का खेलाडी मेन अफ द टुर्नामेन्ट निशा लिम्बु र बेष्ट प्लेयर निशा राई भएको आयोजकका विकास बाँस्तोलाले जानकारी दिए ।
बिजयी, उपबिजयी टीमलाई युवा संघ नेपालका केन्द्रीय महासचिव रमेश आचार्य, प्रदेश नम्बर–१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम राना, माईका मेयर दिपककुमार थेबे, उपप्रमुख बिष्णुमाया आचार्य, युवा संघ नेपाल इलाम अध्यक्ष अरुण बराल, नेकपा एमालेका नेता बुद्धि खनाल, रत्नबहादुर अधिकारी, प्रकाश अधिकारी, मुखराज आङ्गदम्बेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । युवाहरुको वौद्धिक तथा शारीरिक विकासका लागि सुखानीका शहीदहरुको संझनामा प्रतियोगिता सञ्चालन गरिएको हो । २०२९ साल फागुन २१ गते सुखानीमा तत्कालिन शासकले हत्या गरिएका रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बीरेन राजबंशी र नारायण श्रेष्ठको ४६ औ स्मृति दिवसमा फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्