भद्रपुर, फागुन २९ । झापाका उद्योगीहरुको पुरानो संस्था झापा उद्योग संघमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखि कार्यभार सम्हालेको छ ।

संघको सभाहलमा आयोजित समारोहका बीच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई संघको माइन्यूट दिँदै वर्तमान अध्यक्ष टिकाराज ढकालले पद हस्तान्तरण गरेका हुन् ।
समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ओहोदाको प्रमाणपत्र वितरण गरे भने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीले खादा–माला पहिर्याएर सम्मान गरे ।
महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै संघको गरिमा उच्च राख्न र उद्योगीहरुको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारानाथ घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संघको विधान अनुसार तीनजनालाई कार्यसमितिमा मनोनित गरेको घोषणा गरे । कार्यसमितिमा रिक्त रहेको एक उपाध्यक्ष (कृषि, वन)–मा हेमराज ढकाल र सदस्यमा प्रतिष्ठित उद्योगी परशुराम अग्रवाल र बुद्धि घिमिरेलाई मनोनित गरेको घोषणा गरे ।
समारोहमा आफ्नो कार्यकालमा भएका सबै क्रियाकलापमा सहयोग गरेकोमा अध्यक्ष ढकालले उपाध्यक्ष दिपेश ढकाल र महासचिव दुर्गाप्रसाद भण्डारीलाई मायाको चिनो प्रदान गरे भने संघका कार्यालय सहयोगीको रुपमा लामो समय सेवा पुर्याएकोमा लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित कदरपत्र प्रदान गरे । पोखरेल हाल अस्वस्थ रही काठमाडौंमा उपचाररत छन् ।
यही फागुन २२ गते निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको थियो । अध्यक्षमा यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शिवकुमार गुप्ता, उद्योग उपाध्यक्षमा दिपेश ढकाल, महासचिवमा दुर्गाप्रसाद भण्डारी, सचिवमा प्रदीपमणि रेग्मी, कोषाध्यक्षमा प्रदीप सरावगी तथा सदस्यमा चण्डीप्रसाद पराजुली, जयप्रकाश शर्मा, सुरेशकुमार अग्रवाल, विनय गोयल, रमेश पराजुली, सञ्जयकुमार पोखरेल, विनय गोयल, आदित्य पराजुली र महेश चित्लांगिया सर्वसम्मत निर्वाचित भएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्