दमक , चैत २ । विश्व उपभोक्ता अधिकार दिवस दमकमा अन्तरक्रिया गरी मनाईएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च दमकको आयोजनामा ‘उपभोक्ता अधिकार संरक्षणमा स्थानीय तहको भूमिका र कानूनी अवस्था’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । उपभोक्ता हित संरक्षण मञ्च, दमक–अध्यक्ष एवम् प्रदेश १ का उपाध्यक्ष डा. नविन चापागाईको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाले उपभोक्ता अधिकारका क्षेत्रमा गर्दै आएका कामका बारेमा नगरपालिकाका विभिन्न अधिकारीहरुले जानकारी गराएका थिए । दिवसको यस वर्षको राष्ट्रिय नारा ‘प्लास्टिकको प्रयोगको दुरुत्साहन, वातावरण संरक्षणमा योगदान’ तय गरिएको थियो । यस्तै उपभोक्ता हित संरक्षण मञ्चले तय गरेको ‘उपभोक्ताको मौलिक हक कार्यान्वयनमा हाम्रो चासो, तिनै तहमा उपभोक्ता हित संरक्षण नीतिको खाँचो’ नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाईएको हो ।

कार्यक्रममा नगरप्रमुख ओलीले दमक नगरपालिकाले यस अघि नै प्लाष्टिकका झोला, कप तथा प्लेट निषेध गरिसकेको भन्दै प्रभावकारी अनुगमनको अभावमा कतिपय ठाउँमा अझै प्रयोगमा रहेको बताए । यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न उनले अनुगमन समितिलाई निर्देशन पनि दिए । यस्तै केहि समयअघि नगरसभाबाट बजार व्यवस्थापन तथा अनुगमन ऐन समेत जारी भएकाले नगरले कानूनी र नीतिगत रुपमा नै उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिएको उनले बताए । उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट समेत उपभोक्ता सचेतना, जागरण तथा उपभोक्ता अधिकार रक्षाका लागि हुँदै आएका कामहरु प्रभावकारी रहेको भन्दै उनले आगामी दिनमा समेत नगरपालिकाले मञ्चसँग समन्वय गर्दै कार्यक्रमहरु सञ्चालन गर्नु बताए ।
यस्तै नगरपालिकाका विधायन समिति संयोजक बोधराज न्यौपानेले सरोकारवाला सवै पक्षबीच छलफल गरेर नयाँ ऐन ल्याईएको बताए । ऐनमा उपप्रमुख तथा कार्यपालिकाले तोकेको व्यक्ति संयोजक रहने, एक महिला, नगर प्रशासनबाट एक अधिकृत, सेवा प्रवाह गर्नेबाट २ महिलासहित ३ जना, दमक उद्योग वाणिज्य संघका प्रतिनिधि १, उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाबाट १ तथा शाखा प्रमुख सदस्य सचिव रहनेगरी अनुगमन समितिको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै बजार अनुगमन समितिका संयोजक भीम पौडेलले ऐनमा विभिन्न विषयगत अनुगमन समिति समेत गठन गर्न सकिने व्यवस्था भएकाले सो व्यवस्था पनि कार्यान्वयन गरी बजार अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाईने बताए । जनप्रतिनिधिहरु आएपछि बजार अनुगमनलाई नियमित र तिब्र बनाईएको भन्दै पौडेलले उपभोक्ता अधिकारका क्षेत्रमा विगतको अवस्थामा भन्दा धेरै सुधार आएको बताए ।

अन्तरक्रियामा नगरपालिका प्रशासन शाखा प्रमुख यज्ञराज निरौलाले ऐनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरी बजार व्यवस्था र अनुगमनलाई प्रभावकारी बनाईदै लगिएको बताए । यसैगरी नगरपालिकाका खाद्य निरीक्षक लक्ष्मी न्यौपाने तथा सहायक निरीक्षक पवन पराजुलीले विभिन्न संघसंस्थाको समेत समन्वयमा नियमित बजार अनुगमन हुने गरेको बताए । उपभोक्ता अधिकार हनन् हुनेगरी व्यावसायिक कारोवार गर्ने कतिपय व्यवसायीलाई दण्डितसमेत गरिएको उनीहरुले जानकारी दिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च दमकका उपाध्यक्ष एवम् अधिवक्ता देवेन्द्र भण्डारीले भएका कानून कार्यान्वयन गर्दै उपभोक्ता अधिकारलाई प्रत्याभूत गराउनु पर्नेमा जोड दिए । यस्तै उनले स्थानीय तहले बनाएका कानून तथा भएका व्यवस्थाबारे सरोकारवालाहरुलाई जानकारी गराउन जरुरी रहेको पनि बताए । कार्यक्रममा एशिया फाउण्डेशनका प्रतिनिधि श्याम सापकाटोले उपभोक्ता अधिकार रक्षा, कानून निर्माण, सचेतना अभिवृद्धिजस्ता क्षेत्रमा दमक नगरपालिकाले अग्रणी भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रमका अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च दमकका अध्यक्ष एवम् प्रदेश १ का उपाध्यक्ष डा. नविन चापागाईले नगरपालिकाले उपभोक्ता अधिकार संरक्षणका लागि नयाँ ऐन ल्याएकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत मञ्च नगरपालिकासँग समन्वय गर्न तयार रहेको बताए । फुटपाथ तथा खुद्रा बजार, मासु बजारजस्ता छरिएका व्यवसायलाई समेत एकत्रित गरी बजार व्यस्थापन र शुद्ध बस्तु तथा सेवा खरिदविक्रीको वातावरण बनाउन आवश्यक रहेको उनले जोड दिए ।
हरेक वर्ष मार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्