बिर्तामोड, चैत २ । पहिलोपटक झापामा प्लम्बर मजदुरहरु संगठित भएका छन् ।

जिल्लाभरि छरिएर रहेका प्लम्बर मजदुरहरुलाई एकत्रित गरी पेशागत हकहितका लागि उनीहरु संगठनमा आवद्ध भएका हुन् । जिल्लाभरिका प्लम्बर मजदुरहरुको सोमबार बिर्तामोडमा भएको भेलाले नेपाल प्लम्बर मजदुर संघ झापा गठन गरेको हो । दिपेश धिमालको अध्यक्षतामा गठित संस्थाको तदर्थ समितिको उपाध्यक्षमा लोकबहादुर तामाङ, सचिव प्रेम आचार्य , कोषाध्यक्ष शेरबहादुर भुजेल तथा सदस्यहरुमा टीकाराम काफ्ले , घनश्याम बराल , हस्तबहादुर श्रेष्ठ , दिपेन्द्र नेपाल र बहादुर लामा रहेका छन् । त्यस्तै भेलाले संस्थालाई आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन मोहन राजवंशी संयोजक तथा रोमन अधिकारी र सचिन राई सदस्य रहेको तीन सदस्यीय विधान निर्माण समिति गठन गरेको छ । त्यस्तै हेम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ । जसको सदस्यहरुमा रमेश नेपाल , इन्द्रसिंह राजवंशी , परमेश्वर शाह र अम्बरबहादुर खुलाल रहेका छन् ।

अरु पेशाकर्मीहरु संगठित भएपनि प्लम्बर मजदुरहरु एक हुन सकेका थिएनन् । विगतदेखि संगठनको खाँचो औंल्याइएपनि सबैलाई एक ठाउँमा भेला गराउन नसक्दा गठनमा ढिलाइ भएको अध्यक्ष धिमालले बताए । उनले पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै पेशा निर्वाह गर्नेक्रममा विभिन्न समस्या आउने गरेकाले संगठित बन्नैपर्ने अबस्था सिर्जना भएको बताए । ज्येष्ठ प्लम्बर दिलिप धिमालको अध्यक्षतामा भएको भेलामा प्लम्बर व्यवसायीहरु श्याम श्रीवास्तव,सुदीप नेपाल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , इजलास दैनिकका सम्पादक प्रदीप परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । रोमन अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन रमेश नेपालले गरेका थिए । झापामा ५ सयको हाराहारीमा प्लम्बर मजदुरहरु रहेको अनुमान गरिएको छ । बिर्तामोडमा मात्र सयजना रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्