बिर्तामोड ,चैत ३ । लोप हुन लागेको आफ्नो मौलिक संस्कार संस्कृति जोगाउन बिर्तामोडका तामाङहरु लागिपरेका छन् ।

अरुको सिको गर्दा आफ्नो मौलिक जातीय संस्कार संस्कृति बिर्सिदै गएपछि उनीहरु त्यसको जगेर्नामा लागेका हुन् । आफ्ना संस्कार संस्कृतिलाई बचाउनका लागि बिर्तामोडमा तीनदिने प्रशिक्षण आयोजना गरिएको थियो । नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिको आयोजना तथा बिर्तामोड नगरपालिका ४ नं वडा कार्यालयको सहयोगमा नमोबुद्ध गुम्बामा तामाङहरुलाई संस्कार संस्कृतिका वारेमा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा बिर्तामोडभरिका ५१ जना सहभागी रहेका थिए ।
बौद्ध धर्म मान्ने तामाङहरुको जन्मदेखि मृत्युसम्म आफ्नै ह्रमठिम( संस्कार संस्कृति) रहेको छ । आधुनिक र मिश्रित बसाइका क्रममा उनीहरुले आफ्नो सस्ंकार संस्कृति छोड्दै गएका छन् । त्यही भएर त्यस किसिमको प्रशिक्षण आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिका अध्यक्ष रुद्रबहादुर स्याङ्बो तामाङले बताए । संस्कृतिसम्बन्धी हेर्ने नेपाल तामाङ ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान र महासचिव टेक घिसिङले तामाङ जातिका मौलिक संस्कार संस्कृतिका वारेमा सहजीकरण गरेका थिए । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि प्रसाई र विशेष अतिथि बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तामाङको पहिचान जोगाउन आफूले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिका अध्यक्ष रुद्रबहादुर स्याङ्बो तामाङको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङका १ नं प्रदेशका सल्लाहकार सदस्य पदमबहादुर तामाङ देवराज ,घेदुङका जिल्ला समन्वय समिति झापाका अध्यक्ष काजीमान घिसिङ,प्रशिक्षक पासाङ मोक्तान , घेदुङका बिर्तामोड नगर अध्यक्ष हस्तबहादुर लुङ्वा , उपाध्यक्ष विनिता योन्जन ,मेचीनगर उपाध्यक्ष रामबहादुर वाइबा ,नेपाल तामाङ लामा घेदुङका झापा जिल्ला अध्यक्ष चन्द्रबहादुर घिसिङ , प्रशिक्षणका सहभागी झनबहादुर योन्जनलगायतले बोलेका थिए । नगरसचिव सूर्यमान पाख्रिनले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कर्मसिंह घिसिङले गरेका थिए । प्रशिक्षार्थीहरुलाई ताम्बा आधारभूत प्रशिक्षणको प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकद्वयलाई घेदुङको नगर र वडा समितिले सम्मान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्