लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापाका नवनिर्वाचित अध्यक्ष हुन् । गत फागुन २८ गते सम्पन्न चुम्लुङको ११ औ जिल्ला अधिवेशनवाट उनी आगामी तीनबर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । भाषा साहित्यसंगै पत्रकारितामा क्रियाशील फियाकले यसअघि चुम्लुङको विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनले चुम्लुङ झापाको सदस्य, कार्यवाहक अध्यक्षसहित राष्ट्रिय चुम्लुङ सदस्य भएर सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका छन् ।
चुम्लुङसंगै उनी किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष, दमक प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य, लिम्बू साहित्यिक संस्थालगायतका धार्मिक तथा किरात धर्म,भाषा ,साहित्यसम्बन्धी विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेर काम गर्दै आएका छन् ।
प्रस्तुत छ, दमक ५ निवासी अध्यक्षसँँंग चुम्लुङको सेरोफेरोमा गरिएको कुराकानी ।

लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापाको नेतृत्वदायी भूमिकामा पुग्नुभएको छ , कस्तो लागिरहेको छ?
म यतिवेला एउटा जिम्मेवार पदमा पदासिन भएको छु । हुन त, मानिस स्वभावैले स्वार्थी हुन्छन्, त्यसकारण धेरै मानिसहरु कुनै न कुनै पदमा पुग्नेवितिकै गर्वित छु हर्षित छु भन्छन् तर म त्यसो भन्दिनँ र सोच्दिनँ पनि । किनभने ममा एउटा जिम्मेवारी थपिएको छ । यो जिम्मेवारी कसरी सम्मानजनक पूरा गर्न सकिन्छ होला भन्ने विषयमा गंभीर भएर सोचिरहेको छु । वास्तवमा भन्ने हो भने कुनै न कुनै पद ग्रहण गर्नु भनेको काम गर्न जानु हो भन्ने मेरो बुझाइ छ । त्यस अर्थमा किरात याक्थुङ् चुम्लुङ्को विधानगत विधि र विधानअनुसार झापाली याक्थुङ् लिम्बूहरुले मलाई अत्यन्त ठूलो ,गहन जिम्मेवारी दिनुभएको छ भन्ने लाग्छ ।
किनभने चुम्लुङ्ले उठाएका सामाजिक, सास्कृतिक, धार्मिक, राजनैतिक, आर्थिक, शैक्षिक, स्वास्थ्यसहितको अस्तित्व र पहिचानको एजेण्डा पेचिलो बन्दै गरेको अवस्थामा अब झापामा पनि ती एजेण्डाहरुलाई खरो रुपमा उतार्नको निम्ति चुम्लुङ्लाई अगाडि बढाउनु पर्ने भएकोले म त्यस विषयमा आफ्नो टिमलाई कसरी डोर्याउने छु भन्ने तपाईमार्फत पनि प्रतिबद्धता जाहेर गर्दछु ।
चुम्लुङ् झापाको नेतृत्वमा तपाई छिट्टै पुग्नुभयो भन्ने चर्चा छ नि?
यहाँहरुले छोटो समयमा झापा चुम्लुङ्को नेतृत्वमा सेसेहाङ् पुग्यो भनेर सोच्नु भएको छ नि यो चाहिँ अलिक मेरो वारेमा थाहा नभएर पनि होला । म छिटो नेतृत्वमा पुगेको पक्कै होइन । मैले किरात याक्थुङ् चुम्लुङ्मा काम गरेको वर्ष नै गन्ने हो भने साह्रै धेरै हुन्छ । म २०४९ सालमा साधारण सदस्य लिएर पान्थर आरुबोटेको गाउँशाखा सचिव चलाएको हुँ । त्यसपछि २०५६ सालमा पान्थर जिल्लाको सचिवमा रहेर काम गरेको हुँ । त्यसपछि पान्थरको दक्षिणी भेगको राष्ट्रिय पार्षदमा प्रतिनिधित्व गर्न नदिइएर म चुनावबाट पराजित भएर बाहिरिएको हो । त्यसपछि समयको चक्रले मलाई झापामा ल्याइ पुर्याएपछि झापामा लामो समयसम्म चुम्लुङ्बाट प्रकाशित ताःन्छोप्पाको झापा प्रतिनिधि भई काम गरें ।
त्यस समयमा झापाली याक्थुङ लिम्बुहरुको घर–घरमा पुगेको छु । त्यसपछि दमक नगरपालिका वडा न.ं १० को सल्लाहकार, दमक नगरको सल्लाहकार हुँदै राष्ट्रिय चुम्लुङ् सदस्यको प्रतिनिधित्व गर्न पुगँें । त्यसपछि जिल्ला समितिको आन्तरिक मामलाका कारण मैले केही समयसम्म कार्यवाहक अध्यक्ष सम्हालेर काम गरँें । त्यसपछि सम्पन्न ११ औं जिल्ला अधिवेशनले मलाई नेतृत्वमा चयन गरेको छ ।
यस अर्थमा मैले चुम्लुङ्मा काम गरेको निकै लामो समय मैले मानेको छु । यसलाई छोटो समयमा नेतृत्वमा पुगेको भन्ने मलाई लाग्दैन ।
चुम्लुङ कस्तो संस्था हो , संक्षेपमा प्रष्ट बताईदिनुस् न ?
चुम्लुङ् विशुद्ध सामाजिक संस्था हो । नेपालमा सूचीकृत भएका आदिवासी जातिहरुमध्ये खाम्बोङबा् लुङ्बोङ्बा जाति याक्थुङ् लिम्बुहरुको प्रतिनिधिमुलक संस्था हो चुम्लुङ् । यस संस्थाले विशेष त लिम्बुहरुको सामाजिक, राजनैतिक, सांकृतिक, धार्मिक, आर्थिक, शैक्षिक र स्वास्थ्यको एजेण्डासहित अस्तित्व र पहिचानको मुद्धालाई अगाडि बढाएको छ । यसो भनिरहँदा एउटा सामाजिक संस्थाले यति धेरै काम गर्न सक्छ भन्ने हुन सक्छ तर यथार्थमा अहिलेसम्म चुम्लुङ्ले गर्दै आएको कामहरु यिनै एजेण्डाको पेरिफेरिमा रहेका छन् । त्यसकारण चुम्लुङ् विशुद्ध रुपमा याक्थुङ् लिम्बुहरुको चौतर्फी समृद्धि र सभ्यता निर्माण गर्ने साझा संस्थाको हो भनेर बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।
चुम्लुङ झापाको अवस्था कस्तो छ ?
समग्रमा ठिकै छ । झापा जिल्ला अहिले ८ नगरपालिका र ७ गाउँपालिकामा खुम्चिएको छ । ती सबै नगर गाउँपालिकामा चुम्लुङ्को नगर शाखा र गाउँशाखा गठन भएको छ । जहाँसम्म क्रियाशीलताको कुरा छ, त्यसमा भने केही कमी भएको चाहिँ हो । यसो हुनुको पछाडि पछिल्लो समयमा आएको राजनैतिक अस्थिरताको कारण पनि छ, विश्वव्यापी महामारीको कारण पनि छ । यस्तै उस्तै केही केही कारणहरुले गर्दा पछिल्लो समयमा अलिक निष्कृय चुम्लुङ् रहेको हो कि भन्ने लागेको होला तर खासै त्यस्तो छैन । समग्रमा सांगठनिक हिसाबले ठिकै नै छ भन्नुपर्छ ।
यति लामो इतिहास बोकेको चुम्लुङ झापामा अधिकांश नेतृत्व असफल भए, हानाथाप ,विवादमा मात्र परेका छन् ?
झापामा अलिक बढी विचारहरुको अभ्यास हुने गरेको ठाउँ भन्ने मलाई लाग्छ । यहाँ विद्यमान राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक विषयको विचारको आन्तरिक मन्थनलाई व्यवस्थापन गरेर नेतृत्वमा रहनेहरुले सम्बोधन गर्न नसकेर पनि त्यस्तो महसुस गरिएको हुन सक्छ । मैले त चुम्लुङ् नेतृत्वमा त्यस्तो विवाद, हानाथाप गरेर असफल नै भए भन्ने त लाग्दैन । विशेष गरेर यो भन्दा अगाडि नेतृत्वमा पुग्ने अधिकांश नेतृत्वकर्ताहरु लिम्बुवान स्वायतत्ता प्राप्तिको आन्दोलन, धर्मनिरपेक्षताको आन्दोलन, अस्तित्व र पहिचानको आन्दोलन चुम्लुङ्को नेतृत्वमा गर्नुपर्यो । त्यसरी नेतृत्व गरिरहँदा केही विचारहरु बाझिए, जसको कारण नेतृत्वदायी भूमिका अलिक कमजोर भएको हो कि भन्ने लागेको मात्र हो । तर नेतृत्व नै असफल भएको चाहिँ होइन । किनभने नेतृत्व असफल भएको भए त चुम्लुङ् यस्तो अवस्थामा रहने नै थिएन नि । होइन र ?
चुम्लुङलाई आगामी तीन बर्षमा के काम गर्ने योजना छ ?
कुनै कुनै व्यक्तिहरु जिम्मेवार पदमा पदासिन हुनेवितिकै यो गर्छु र त्यो गर्छु भन्छन् तर त्यसो भन्दिनँ किनभने यो सामाजिक संस्था भनेको आफ्नो गोजीको खर्चले चलाउनु पर्ने संस्था हो । त्यसकारण टिमलाई मिलाएर लैजान सकियो भने निश्चय पनि सोचेभन्दा बढी काम गर्न सकिन्छ भन्ने मात्र लागिरहेको छ । यसो भनिरहँदा योजना नै विनाको चुम्लुङ् नेतृत्व आएछ भन्ने लाग्न सक्छ । समयले साथ दिएछ भने अनि झापाली याक्थुङ् लिम्बुहरुले साथ दिएछन् भने हाम्रो जिल्ला टिमले निम्न कुराहरु तीन वर्षमा पूरा गर्ने लक्ष्य राखेका छौं ।
१.चुम्लुङ्को मूलभुत उद्धेश्यहरु प्रत्येक याक्थुङ् लिम्बुहरुको घर–घरमा पुर्याउने ।
२. झापावासी याक्थुङ् लिम्बुहरुलाई विधानतः साधारण सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र विशिष्ठ संरक्षक सदस्य बनाई चुम्लुङ्मा आबद्ध गराउने ।
३. स्थानीय सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा झापा जिल्लाभरिका सामुदायिक विद्यालय र निजी विद्यालयमा औपचारिक, अनौपचारिक रुपमा किरात सिरिजङ्गाको लिपिको माध्यमबाट लिम्बू भाषा पठनपाठन कार्य योजनाबद्ध रुपमा अघि बढाउने ।
४. झापावासी याक्थुङ् लिम्बू समुदायबीचमा सामाजिक, राजनैतिक, सांस्कृतिक, धार्मिक र आर्थिक खाडलका कारण वेमेलतर्फ उन्मुख असमझदारीपनको अवस्थालाई संहिष्णुमयी वातावरणमा फर्काएर आपसी मेलमिलापको वातावरण सिर्जना गर्ने ।
५. लिम्बू सांकृतिक सम्पत्ति जस्तै यारुलाङ्, केलाङ्, पालाम्, हाक्पारे, ख्यालीलगायतका लोक सम्पत्तिहरुलाई सांस्कृतिक पूँजीको रुपमा संस्थागत गर्दै जाने ।
६. हाम्रो कार्यकालभरि अर्थात तीन वर्षमा कम्तीमा राज्यको मूलधारमा प्रवेश गर्न सक्ने २०० जना जनशक्ति निर्माण गर्ने ।
७. तीन वर्षमा कम्तीमा १ करोडको अक्षयकोष निर्माण गर्ने ।
८. याक्थुङ् लिम्बू भाषा साहित्यमा योगदान पुर्याउने साहित्यिक व्यक्तिलाई कम्तीमा वार्षिक ५० हजार पुरस्कार प्रदान गर्न गरी ५० लाख बराबरको पुरस्कार राशि स्थापना गर्ने ।उल्लेखित उद्धेश्यका साथचुम्लुङ् जिल्ला कार्यसमितिले मेरो नेतृत्वको टिम अघि बढ्ने छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
सर्वप्रथम किरात याक्थुङ् चुम्लुङ्का बारेमा मेरो कुरा राख्ने अवसर दिनुभएकोमा तपाईलगायत यस सञ्चार गृहप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै अधिवेशनलाई सौहार्दपूर्ण रुपमा सम्पन्न गराउन सहयोग पुर्याउने झापावासी याक्थुङ् लिम्बू विद्वान, बुद्धिजीवि, समाजसेवी, राजनीतिज्ञ, उद्योगी, व्यापारी, पत्रकार, साहित्यकार, कलाकारलगायत देश विदेशमा रहनुहुने सम्पूर्ण शुभेच्छुकहरुमा म चुम्लुङ् झापाको तर्फबाट लुङ्मेन्दीङ् व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्