उर्लाबारी, चैत ४ । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय सभाहलको भवन बुधबार शिलान्यास गरिएको छ ।

नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमका बीच सभाहल शिलान्यास गरेका हुन् ।
नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त भवन निर्माण गरिने विद्यालयका प्रधानाध्यापक सूर्यमान सिरेङले जानकारी दिए । यस विद्यालयलाई सरकारले नमूना घोषणा गरेबमोजिम उक्त सभाहल निर्माणका अनुदान दिएको उनले बताए ।

सोही अवसरमा कक्षा–१२ मा अध्ययनरत छात्रा गरिमा ढुंगाना र कक्षा–९ मा अध्ययनरत चम्पा खनाललाई ‘पम्फादेवी स्मृति छात्रवृत्ति पुरस्कार’ प्रदान गरिएको छ । माविस्तरमा उच्चतम अंक ल्याएवापत ढुंगाना र आधारभूत तहमा उच्चतम अंक ल्याएवापत खनाललाई पुरस्कार प्रदान गरिएको हो । ढुंगानालाई नगद १५ हजार तथा खनाललाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी रूपेश खतिवडाले स्थापना गरेको छात्रवृत्ति पुरस्कार विभिन्न कक्षाका १० जना बालबालिकालाई प्रदान गरिएको छ । कक्षा–१ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरुलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पूर्व विद्यार्थी खतिवडाले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत तीन वर्षदेखि पुरस्कृत गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्