बिर्तामोड , चैत ४ । विभिन्न होटल व्यवसाय खुलेसँगै बिर्तामोड म्युजिकल हवको रुपमा विकसित हुँदै गएको छ ।

खासगरी कोरोना कहरपछि बिर्तामोडमा सांगीतिक कार्यक्रमहरु बाक्लै हुन थालेका छन् । स्थानीयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुलाई बोलाएर सांगीतिक कार्यक्रम गर्ने क्रम बढ्दो छ । एकैदिन एकभन्दा बढी ठाउँमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् । पर्यटनको लागि आकर्षणको केन्द्रविन्दु बनेको बिर्तामोड २ स्थित हेवन वाटर पार्कमा अढाई महिनाको अवधिमा ५ वटा सांगीतिक साँझ सम्पन्न भएका छन् । स्थानीय कलाकारलाई ल्याएर अंगे्रजी नयाँ वर्ष २०२१ मनाएको पार्र्कले त्यसपछि माघ ९ गते प्रमोद खरेल , माघ ३० गते झिल्के एण्ड द कम्पनी ,फागुन १ गते मंकी टेम्पल र फागुन २ गते मुक्ति एण्ड रिभाइवल ब्याण्डलाई बोलाएर सांगीतिक साँझ आयोजना गरेको थियो । त्यस्तै सो पार्कले चैत ६ गते अनुप्रस्था ब्याण्डलाई निम्त्याउन लागेको प्रवन्ध निर्देशक नेपालरत्न शिवाकोटीले बताए । उनले बिर्तामोडलाई म्यूजिकल हव बनाउनका लागि आफूहरुले विभिन्न सांगीतिक कार्यक्रमहरु निरन्तर गर्दै आएको जानकारी दिए । हेवन वाटर पार्कले भ्यालेन्टाइन डेको अवसरमा तीन दिन लगातार कार्यक्रम गरेको थियो । त्यसैगरी बिर्तामोड ९ मा भर्खरै खुलेको उज्यालो चिन्तन चौतारी होटल एण्ड रिसोर्टले पनि संगीतप्रेमीहरुका लागि कार्यक्रम गर्दै आएको छ ।

नयाँ वर्षमा लिजार्ड ब्यान्डलाई ल्याएको सो रिसोर्टले माघ ९ गते आस्था राउत , भ्यालेन्टाइन डेमा दिपक लिम्बूलाई बोलाएर मनोरंजन दिलाएको थियो । चैत ६ गते कमल खत्री र एलिना चौहानलाई बोलाएर कार्यक्रम गर्न लागेको रिसोर्टका संचालक प्रकाश बुढाथोकीले बताए । उनले आफूले राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरुलाई पनि प्राथमिकता दिएको जानकारी दिए ।‘व्यावसायिक , सामाजिक र मनोरंजनसँगै कलाकारको कलालाई सम्मान गरेका छौं’उनले भने ,‘राम्रो प्रतिभा भएका स्थानीय कलाकारहरुलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं ।’ उनका अनुसार अर्को शुक्रबार पंक्षी ब्यान्ड ल्याउने योजना छ । त्यस्तै बिर्तामोडको मोक्ष होटलले केही दिनअघि भारतीय ’अर्बान फोक सिंगर’ आरको मुखर्जीलाई ल्याएर कार्यक्रम गरेको थियो भने हेवन होटलले भर्खरै उदय सोतान र मनिला सोतानलाई ल्याएर कार्यक्रम गरेको छ । त्यसैगरी होटल टाइमलेसले भ्यालेन्टाइन डेमा कलाकार अनिल सिंहलाई ल्याएर सांगीतिक प्रस्तुती दिन लगाएको थियो । यसैबीच आउने बिहीबार होटल मण्डलाले शाश्वत खड्कालाई ल्याउने भएको छ । त्यसो त बिर्तामोडका केही सांगीतिक क्लवहरुले नियमित रुपमा दिनहुँ सांगीतिक कार्यक्रमहरु गर्दै आएका छन् । यसरी हेर्दा बिर्तामोडमा यतिबेला राष्ट्रिय कलाकारहरुको उपस्थिति बढेको छ भने स्थानीय कलाकारहरुले पनि रोजगारी पाएका छन् । यति धेरै बाक्लै कार्यक्रम गर्दा पनि रामै्र चलेको होटल संचालकहरु बताउँछन् । हेवन वाटर पार्कका प्रवन्ध निर्देशक शिवाकोटीले भ्यालेन्टाइन डेमा आयोजित तीनदिने कार्यक्रममा ५ हजारभन्दा बढी टिकट बिक्री भएको बताए । उनले आफूहरुकहाँ इटहरी , धरान , इलाम,भारतको सिलिगुडी , खर्साङसम्मका दर्शकहरु आएको जानकारी दिए । सांगीतिक माहौल बनाउने क्रममा होटल र रिसोर्ट संचालकहरुबीच प्रतिष्पर्धा हुने गरेको छ । हेवन वाटर पार्क र उज्यालो चिन्तन चौतारी रिसोर्टले एउटै मितिमा चार वटा कार्यक्रम प्रतिष्पर्धाको रुपमा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्