बिर्तामोड, चैत ५ । कनकाई हस्पिटल बिर्तामोड र एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन ) को संयुक्त आयोजनामा बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन हुने भएको छ ।

नेपालभरिका स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन , रेजिडेन्सहरुको सहभागितामा प्रदेश नं. १ मै पहिलोपटक झापाको बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको तयारी गरिएको एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए । बिर्तामोडमा शुक्रबार साँझ स्पाइन सर्जनहरुको सम्मेलनको उद्घाटन गरिने सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका शाहीले बताए ।
सम्मेलनको उद्घाटन एएसएसएनका प्रेसिडेन्ट प्रोफेसर डाक्टर विमलकुमार पाण्डे , पास्ट प्रेसिडेन्टद्वय प्रोफेसर डाक्टर रोहित पोखरेल र प्रोफेसर डाक्टर रविन्द्रलाल प्रधानले गर्ने उनले बताए ।
त्यस्तै शनिबार धुलाबारीमा सवोन मोडलमा स्पाइनसम्वन्धी अप्रेसन टेक्निकबारे एएसएसएनका फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षण र नेपालका ख्यातिप्राप्त वरिष्ठ स्पाइन सर्जनहरुको प्रस्तुतीसहितको छलफल राखिएको उनले जानकारी दिए ।
मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिन तथा युवा अर्थोपेडिक तथा न्युरो सर्जनहरुलाई दक्ष स्पाइन सर्जन बनाउने प्रशिक्षण दिन सम्मेलन र कार्यशाला आयोजना गरिएको उनले बताए ।
कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर समेत रहेका वरिष्ठ स्पाइन सर्जन डा. शाहीले कनकाई हस्पिटल बिर्तामोडले आठ वर्षअघि प्रदेश नंं.१ मै पहिलोपटक स्पाइनल सर्जरी सेवा शुरु गरेको र हाल माइक्रोएण्डोस्कोपिक स्पाइन सर्जरी सम्बन्धी सेवा शुरु गरेर स्पाइनका विरामीलाई सेवा दिइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्