दमक , चैत ५ । पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक गतिविधिप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।

दलहरुबीचको कलहले देश र जनताको भविष्य अन्धकारमा पुग्न लागेको चिन्तासहित उनले आफूले सबै गतिविधि नजिकबाट नियालिरहेको बताए । दमकको निजी निवासमा केही महिनादेखि रहेका पूर्व राजा शाहले राजनीतिक भेटघाटका क्रममा त्यस्तो भनाइ राखेका हुन् । नियमित रुपमा भेटघाट जारी राखेका शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्ति सिटौलासँग बिहीबार भएको भेटमा समसामयिक विषयमा लामो कुराकानी गरेका थिए । सिटौलाका अनुसार पूर्व राजा शाहले जनताको असन्तुष्टिलाई आफूले सुनिरहेको बताएका थिए । ‘जनताको आशा अपेक्षाअनुरुप काम हुन सकिरहेको छैन , देश सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन , दलहरुको आन्तरिक कलहले विकास निर्माण रोकिएको छ ’ शाहको भनाइ उद्धृत गर्दै सिटौलाले भने ,‘ दलहरुको गतिविधिप्रति उहाँले तीब्र असन्तुष्टि जनाउनु भयो ।’
‘यो बेलामा तपाईको अहम् भूमिका जरुरी छ’ भन्ने जिज्ञाशामा पूर्व राजा शाहले आफ्नो भूमिका परिस्थितिले सिर्जना गर्ने भन्दै अहिले नै हतार गर्न नहुने प्रतिक्रिया दिएको सिटौलाले बताए । शाहले सत्तारुढ दलसँगै राप्रपाको राजनीतिप्रति समेत चासो राखेका थिए । राप्रपाको संगठन निर्माण ,एकता , मेलमिलापलगायतका विषयमा उनले जिज्ञासा राखेको सिटौलाले बताए । ‘राप्रपाका नेताहरु किन मिल्न नसकेका , पार्टीले ठोस भूमिका खेल्न नसकेको भनेर उहाँले जिज्ञाशा राख्नु भयो ’सिटौलाले भने ,‘मैले राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डासहित आदर्श र अवसरलाई सँगसँगै लान नसक्दा यो अवस्था आएको धारणा राखँे ।’ शाहले राप्रपाका नेताहरु कमल थापा , केशर विष्ट , प्रकाशचन्द्र लोहनी , धवल शमशेर राणालगायतका वारेमा सोधेको सिटौलाले जानकारी दिए । उनीहरुबीच पूर्व राजा शाहको दार्जिलिङ, इलाहावादलगायतको भ्रमणका वारेमा पनि कुराकानी भएको थियो । केही महिनादेखि दमकमा रहेका शाहले भारत भ्रमण गरेका थिए । पटकपटक भेटघाट गर्दै आएका राप्रपा नेता सिटौलाले शाहसँग बिहीबार विहान ११ बजेदेखि ११.४५ बजेसम्म कुराकानी गरेका थिए । आफूले खुलेर कुराकानी गर्ने मौका पाएको उनले बताए । काठमाण्डौंमा रहेका सिटौलालाई भेट्न बोलाएपछि उनी बुधबार साँझ राजधानीबाट फर्किएका थिए । शाहसँग राप्रपाका नेताहरु राम थापा , गोपाल पौडेललगायतले भेटघाट गरिसकेका छन् । संघीय सांसद एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले भने अहिलेसम्म भेट्न नपाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्