बिर्तामोड , चैत ६ । बिर्तामोड नगरपालिकाले ८१ हजारभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य लिएको छ ।

यही चैत २० गतेदेखि ९ दिनसम्म संचालन हुने हात्तीपाइले रोगविरुद्धको अभियानका बारेमा जानकारी दिन शुक्रबार बिर्तामोडमा नगरपालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरिएको थियो । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य शाखाका दीपक सापकोटाले वडा नं १ मा २०४६ घरधुरीका ८ हजार ७३ , २ का २११२ घरधुरीका ९ हजार ३८९ , ३ का १९३३ घरधुरीका ८ हजार ६२० , ४ का २६१० घरधुरीका १० हजार ९७० , ५ का ४४७४ घरधुरीका १७ हजार ८२३ , ६ का १२१८ घरधुरीका ५ हजार २९३ , ७ का १३३० घरधुरीका ६ हजार २०० , ८ का १०९६ घरधुरीका ५ हजार ९५९ , ९ का ९०८ घरधुरीका ४ हजार १८७ र वडा नं १० का १३९१ घरधुरीका ६ हजार ३६८ गरी ८१ हजार ८७८ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य रहेको जानकारी दिए ।उनले अभियानलाई सफल बनाउन नगरभरि ५० जना स्वास्थ्यकर्मी र ३० जना स्वयंसेविकालाई ९ दिनसम्म परिचालन गरिने जानकारी दिए । कार्यक्रममा बोल्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियानलाई जिल्लाभरिमा बिर्तामोडमा उत्कृष्ट बनाउन आव्हान गरे । उनले वडा र नगरमा रहेका सबै संघसंस्थाहरुसँग समन्वय गरेर अभियानलाई सफल पार्न आग्रहसमेत गरे ।

गोष्ठीमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी,कर्मचारी, सुरक्षाकर्मी ,सञ्चारकर्मीको सहभागिता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाका हात्तीपाइले रोगका फोकल पर्सन जीवन चौलागाईँले गोष्ठीमा यो रोगको अवस्थाका बारेमा प्रकाश पारेका थिए । उनले झापामा पटकपटक असफल बन्दै गएको हात्तीपाइले रोग उन्मूलन अभियानलाई सफल बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिए । प्रदेश नं १ को अरु जिल्लामा उन्मूलन भइसकेर झापा , मोरङ र धनकुटामा मात्र यो अभियान अझै संचालन गर्नु परिरहेको उनले बताए ।
आमऔषधी सेवनको माध्यमबाट संक्रमणको दरलाई घटाउँदैं यस रोगलाई जनस्वास्थ्य समस्याको रुपबाट निवारण गर्ने र संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधी सेवनका लागि योग्य सवै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रमको उद्घेश्य रहेको चौलागाईँले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालको उपस्थिति रहेको कार्यक्रममा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला , ८ का कार्यवाहक अध्यक्ष दीपक भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्