मेचीनगर, चैत ७ । झापाको मेचीनगरस्थित निकै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाँच दशकपछि विद्युत विस्तार भएको छ ।

घर–घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन, अनुहार नै उज्यालो छ । बत्ती बलेसँगै आर्थिक अभावकै कारण लामो समयदेखि अन्धकारमा बस्न बाध्य यहाँका मानिसको उज्यालोमा बस्ने सपना ढिलै भएपनि पुरा भएकोमा खुशी व्यक्त गरेका छन् ।

मेचीनगर नगरपालिका र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरको लामो प्रयासपछि सो गाउँमा बत्ती बलेको हो । मेचीपारी ग्वाल, सिसौडाँगी र झारु गरी तीनवटा वस्ती रहेका छन् । अहिले ग्वाल बस्तीमा विद्युत विस्तार भएपनि तत्कालै तीनवटै बस्तीमा बत्ती पुग्ने मेचीनगर नगरपालिकाले जनाएको छ ।शनिबार एक समारोहकाबीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरका प्रमुख इञ्जिनियर सञ्जिवकुमार यादवले संयुक्तरुपमा बत्तीको स्वीच थिचेर मेचीपारी ग्वाल बस्तीमा विद्युत बत्तीको उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दैं प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख आचार्यले यो वस्तीमा स्थानीय सरकारले विद्युत विस्तारको प्रक्रिया नगरपालिकामा जनप्रतिनिधिहरु आएलगत्तै शुरु गरेपनि मेची नदीका कारण तत्काल यो काम अघि बढ्न नसकेको बताए । उनले मेची नदीले पोलमा क्षति पु्र्याउने, बगाएर लैजाने समस्याका कारणले समयमै काम नभएपनि नगरपालिका र नेपाल विद्युत प्राधिकरण भद्रपुर यस बस्तीमा विद्युत विस्तार गर्ने कुरामा सहकार्य गदैं अघि बढिरहेको र त्यसैको परिणामस्वरुप आज ढिलै भएपनि विद्युत विस्तार भएर घरगाउँ नै झलमल्ल भएकोमा खुशी व्यक्त गरे ।उनले अब कोहि पनि नगरवासी अन्धकारमा बस्नु नपर्ने भन्दैं बाँकी दुईवटा सिसौडाँगी र झारु बस्तीमा छिट्टै बत्ती बाल्ने आश्वासन दिए । हरेक मानिसले स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकता सजिलै प्राप्त गर्नुपर्ने भन्दैं नगरप्रमुख आचार्यले सामान्य रोग लाग्दासम्म उनीहरुले भनेको औषधि खान नपाउने अवस्थाको अन्त्य गर्ने बताए । निकै विकट र दुर्गम ठाउँका यी मानिसहरुले एउटा सिटामलसम्म किन्नका लागि १२ किलोमिटरको दुरी तय गर्नुपर्ने बाध्यता रहेको सोही वडाका वडा सदस्य वृखलाल राजवंशीको भनाई छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले यो बस्ती मेचीपारी भएकाले यो ठाउँ पनि नेपाल हो के भन्ने अवस्थामा रहेको र साँच्चै यो बस्ती नेपाल र यहाँ बस्ने सबै नेपाली हुन् भन्ने अनुभूति दिलाउन पनि यस क्षेत्रमा विद्युत विस्तार गरिएको बताइन् । अत्यन्तै निम्न आय भएका यादव, पाहन, सन्थाल समुदायको बसोबास रहेको मेचीनगर—१५ स्थित मेची पारीको यो गाउँ झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित भएपनि अब क्रमश यसले विकासको फड्को मार्ने उनको भनाई थियो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भद्रपुरका प्रमुख इञ्जिनियर सञ्जिवकुमार यादवले यहाँको विद्युतको समस्याका बारेमा नगरपालिकाले आफुलाई जानकारी गराएलगत्तै समस्या हल गर्न सक्रियरुपमा लागि परेको बताए । तत्कालै आफूले यो क्षेत्रको साइड हेरेर सम्बन्धित वडाध्यक्षसँग परामर्श गरेर विद्युत विस्तार गर्न लागिपरे पनि निकै समस्या झेल्नु परेको उनको भनाई छ । हाल जम्मा १६ घरमा मिटर उपलब्ध गराएको र अत्यन्तै निम्न आय भएका र विपन्न मानिसको बसोबास भएकाले कार्यालयले निःशुल्करुपमा विद्युतको मिटर उपलब्ध गराएको उनले बताए ।
ग्वाल बस्ती विकास संस्थाका अध्यक्ष अमन यादवले ढिलै भएपनि आफ्नो गाउँठाउँमा विद्युत विस्तार भएकोमा खुशी व्यक्त गदैं नगरपालिका र नेपाल विद्युत प्राधिकरणलगायत सवैप्रति धन्यवाद दिए । विकासका हरेक गतिविधिबाट पछि परेको मेचीनगरको १५ नम्बर वडाको मेचीपारीको गाउँमा ढिलै भएपनि बत्ती बलेकाले अन्य विकासका कामहरु, स्वास्थ्य, शिक्षा, खानेपानी, मेची नदीमा झोलुङ्गे पुलको व्यवस्था गरिदिन उनले स्थानीय सरकारसँग माग गरे ।
वडानम्बर १५ का वडाध्यक्ष गुणराज भटट्राईले कार्यक्रमको सभापतित्व गदैं ग्वाल बस्तीमा १८,सिसौडाँगीमा १० र झारु वस्तीमा ८ गरी कुल ३६ घर रहेपनि अहिले ग्वाल बस्तीमा विद्युत पुगेको र अब केही दिनै तीनवटै वस्तीमा विद्युत पुग्ने बताए ।
मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, १५ नम्बर वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दल, सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्