बिर्तामोड , चैत ७ । बिर्तामोडको डोमालाल राजवंशी रंगशाला शनिबार भरिभराउ थियो । खेल हेर्न नभएर सन्थाल जातिको बाहा कार्यक्रम हेर्न । लोपोन्मूख अबस्थामा पुगेका आदिबासी सन्थालहरुको त्यस कार्यक्रमको रौनकता नै अर्कै थियो । सन्थाल युवायुवतीहरु नाचिरहेका थिए , झुमिरहेका थिए । उनीहरुसँगै अरु समुदायले पनि भरपूर आनन्द लिइरहेका थिए ।

सन्थाल समुदायको बाहा पर्वको अवसरमा मार्शल बिर्ता युवा क्लवले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभरिका सन्थालहरु सहभागी भएका थिए । आफ्नै भेषभूषा र गरगहनामा सजिएका युवायुवतीहरुले आकर्षक गीतनृत्य प्रस्तुत गरेका थिए । प्रकृतिपुजक सन्थालहरुले मौसम अनुसार चाडपर्व मनाउने गरेका छन् । बाहाको अर्थ फूल हो । बसन्त ऋतु शुरु भएर फूल फुल्ने बेलामा उनीहरुले यो पर्व मनाउने गरेका छन् । सखुवाको फूल लगेर घरघरमा दिने , चेलीबेटीहरुलाई घरमा पाहुना बोलाउने , मीठो खाने , रमाइलो गर्ने परम्परा त्यस जातिमा रहेको पाइन्छ ।‘फूल फुल्ने बेलामा यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ’ सन्थाल अगुवा बडाराम हेमरमले भने ,‘लोप हुँदै गएको संस्कार संस्कृतिलाई जोगाउन खोज्दैछौं ।’ उनले राज्यले सन्थाल जातिलाई उपेक्षा गरेका कारण आफ्नो अस्तित्व जोगाउन आफै लागेको बताए । मार्शल बिर्ता युवा क्लवका अध्यक्ष श्याम मुर्मूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष भोजराज सिटौला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सन्थाल अगुवा बडाराम हेमरम ,बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी , कलाकार किरण खतिवडालगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा १५ वटा नृत्य टोलीले भाग लिएका थिए । जसमध्ये बुट्टावारी प्रथम , कालीमुढा द्वितीय र भद्रपुर तृतीय भएको छ । प्रथम , द्वितीय र तृतीय हुनेले क्रमश ३००० , २००० र १५०० नगद पुरस्कार पाएका छन् । त्यस अवसरमा जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पति राजवंशी , बिर्तामोड ३ नं वडा कार्यालयका कर्मचारी सन्जु बास्की , वयोबृद्धाहरु मुनि हस्दा , राधामणि टुडू , फूलमणि किस्कू र बजै मुर्मूृलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सन्तोष दास र सुनिल हस्दाले गरेका थिए । मार्शल बिर्ता युवा क्लवले विगत चार वर्षदेखि बाहा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्