भद्रपुर , चैत ८ । भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम मेयर कप नकआउट वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं ९ ले जितेको छ ।

मेची रंगशालामा शनिबार भएको फाइनल खेलमा वडा नं ३ लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै वडा नं ९ ले उपाधिमाथि कब्जा जमाएको हो ।
शनिबार सार्वजनिक विदाका दिन उल्लेख्य दर्शक रहेको मेची रंगशालामा पहिलो हाफमा १ गोल गरेको वडा नं ९ ले मध्यान्तरपछि एक गोल थप्यो । वडा नं ३ का खेलाडीले गर्ने अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
उपाधिसँगै वडा नं ९ ले ३० हजार नगद पुरस्कारसहित शील्ड प्राप्त गरेको छ भने उपविजेता वडा नं ३ ले २० मा चित्त बुझाउनु परेको छ ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि १ नै प्रदेशसभा सदस्य बसन्त बानियाँ, नगरप्रमुख जीवनकुमार श्रेष्ठ, ३ नं वडाध्यक्ष कमला थुलुंग, झापा उद्योग संघका उद्योग उपाध्यक्ष दिपेश ढकाललगायतले शील्ड तथा पदक वितरण गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक श्यामकुमार राउतको अध्यक्षता र नगर शिक्षा शाखाका प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समापन समारोहका अवसरमा भद्रपुरमा रहेर राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आफ्नो खेल कौशल प्रदर्शन गर्दै आएका रेजिन सुब्बालाई नगद १५ हजारसहित सम्मान गरिएको थियो भने भद्रपुरका पुराना खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।प्रतियोगिता फागुन २७ गते शुरु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्