झापा, चैत ९ । लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान तीव्र पारेको छ ।

किरात धर्म अनुनायी तथा जातीय संघसंस्थाहरुको समन्वयमा चुम्लुङले पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान शुरु गरेको हो ।
यसक्रममा चुम्लुङ झापाले सोमबार दमकमा संगठन तथा राष्ट्रिय जनगणना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
चुम्लुङको दमक नगर समितिको व्यवस्थापनमा भएको उक्त प्रशिक्षणमा चुम्लुङका अग्रजहरुले आसन्न राष्ट्रिय जनगणनामा आफ्नो जाति ,धर्म पहिचान स्थापित गराउन सबै जुट्नु पर्ने आवश्यकता औंल्याए । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले चुम्लुङको सांगठानिक अवस्थाका बारेमा जानकारी दिनुका साथै जनगणनालाई प्रभावकारी बनाउन जातिको महलमा लिम्बू, धर्मको महलमा किरात र भाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेका थिए ।
त्यस्तै, चुम्लुङका केन्द्रीय उपाध्यक्ष डाक्टर कमल तिगेलाले लिम्बू जातिको जातीय तथा भाषा,धर्म जोगाउन चुनौती आएको उल्लेख गरे । उनले राष्ट्रिय जनगणनामा लिम्बूले आफ्नो पहिचानअनुसार जातिको महलमा लिम्बू, धर्मको महलमा किरात धर्म लेख्न,लेखाउन अभियान सञ्चालन गर्नुपर्ने खाँचो औल्याए ।
चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा केन्द्रीय सदस्य अभिषेक येक्तेन, याम योङहाङ , केन्द्रीय सदस्य बिष्णुदेवी चेम्जोङ, राष्ट्रिय सदस्य गुमानसिङ सम्बाहाङफे , प्रदेश सदस्य इक्सा सम्बाहाङफे,पूर्व उपाध्यक्ष धिरेन लाओतीलगायतको उपस्थिति रहेको थियो ।
चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले स्वागत मन्तव्य राखेको सो अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रममा जिल्लाको माइपश्चिम क्षेत्रका गाउँ,नगर शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि किरात याक्थुङ् चुम्लुङ झापाले आइतवार बिर्तामोडस्थित जिल्ला कार्यालयमा पनि चुम्लुङ संगठन र जनगणनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।उक्त कार्यक्रममा चुम्लुङ केन्द्रीय अध्यक्ष वनेम र चुम्लुङ् सचिवालय सदस्य तथा लिम्बू सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङ्बुहाङ्ले संगठन र जनगणना सम्बन्धमा सहजीकरण गरेका थिए ।आसन्न १२औं राष्ट्रिय जनगणनामा धर्म तथा जातिको महलमा आफ्नो प्रतिनिधित्वलाई समावेश गराउने जोड दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अनुसार जिल्लाको बिर्तामोड र दमकमा सो कार्यक्रमको आयोजना गरिएको चुम्लुङ जिल्ला अध्यक्ष फियाकले बताएका छन् ।
चुम्लुङकी केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङका अनुसार सो अभियान यतिखेर पूर्वी लिम्बूवानी क्षेत्रमा धमाधम जनचेतनामूलक अभियान चलिरहेको छ । राष्ट्रिय जनगणना नजिकिएसंगै चुम्लुङ लिम्बु बाहुल क्षेत्रमा धर्मको महलमा किरात धर्म लेख्न अभियान सञ्चालनमा रहेको उनले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्