भद्रपुर, चैत १२ । झापाको सदरमुकाम चन्द्रगढीमा चोरीका घट्ना बढ्दै गरेको पाईएको छ ।

विगत केही दिनअगाडी सदरमुकामकै केन्द्रमोडमा न्यौपाने थरका एक व्यक्तिको घरमा चोरी भएको घट्ना सेलाउन नपाउँदै मंगलबार राति भद्रपुर १० को एक घरमा फेरि चोरी भएको छ ।
भद्रपुर १० स्थित वीपी मार्गअन्तर्गत पर्ने छाता चोक निवासी चन्द्रप्रकाश चापागाईको घरमा मानिस नभएको समय पारी नगदसहित विभिन्न सामग्री चोरी भएका हुन् ।
कोही नभएको मौका पारी घरको मुलगेटको ताला काटी प्रवेश गरेको चोरले घरमा रहेको नगद १५ हजार , एकथान ल्याप्टप तथा भाडावर्तन समेत चोरेर लगेको चापागाईका आफन्त याम पौडेलले बताए । घरधनी चापागाई विगत २ महिनाअघि अमेरिका घुमघामका लागि गएका थिए । उक्त घरमा भाडामा बस्दै आएकी उषा निरौला चापागाई अमेरिका जानुअघि नै माईतघरमा बस्दै आएकी थिईन् ।
विगत ४ दिन अगाडी मात्र सोही ठाउँ निवासी प्रकाश निरौलाको मोटरसाइकल लेखापढीको कार्यालय अगाडिबाट दिनदहाडै हराउँदा समेत प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।
चोरीका घट्ना दिनप्रतिदिन बढ्दै गएको भन्दै रातिको समयमा सुरक्षा गस्ती खटाएर सुरक्षा दिन स्थानीयहरुले माग गरेका छन् ।
विगत केहि महिनाअगाडी चन्द्रगढीस्थित हनुमान चौक निवासी उपे्रती थरका एक व्यक्तिको घरबाट समेत सुन, ल्याप्टपलगायतका सामान चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्