झापा,चैत १२ । कोरोना संक्रमण फेरि बढेसँगै झापामा दोस्रो चरणमा पहिलो पटक एकजना संक्रमितको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया पुलनादेवी मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।सुरुङ्गा बजारमा पसल चलाउँदै आएकी उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।
१० दिनअघि मात्र ती महिला भारतमा रहेकी छोरीको घर गएकी थिइन् । भारतबाट घर फर्किएसंगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई दुईपटक पिसिआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि बिएण्डसी हस्पिटल रेफर गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । मृतकको लाशलाई नेपाली सेनाको सहयोगमा कन्काई माईमा अन्त्येष्टि गरिएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । उनी एक्लै भारत गएको बताइएको छ ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३८ पुगेको छ । कोरोना संक्रमण न्यूनीकरण भएको करिव अढाई महिनापछि झापामा कोरोना संक्रमितको मृत्यु भएको हो ।झापामा अझै ११ जना कोरोनाका सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ४ हजार ६४५ जनामा संक्रमण पुष्टि भएकोमा ४ हजार ४८७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा ३७ हजार ७२४ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । उनले अहिलेसम्म ५२ हजार ७०७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको जानकारी दिए ।
सीमामा निगरानी बढाइने
झापामा कोरोना संक्रमितको मृत्यु भएसँगै भारतसँग सीमा जोडिएको नाकामा निगरानी बढाइने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भारतसँग जोडिएका सीमा नाकाहरुमा निगरानी बढाउने निर्णय गरेको हो । ‘भारतमा संक्रमण तीब्ररुपमा फैलिएका कारण नाकाहरुमा निगरानी बढाउने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन चौलागाईले बताए । खासगरी बढी आवतजावत हुन थालेको काँकडभिट्टा नाकामा कडाइ गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै एन्टिजिन टेष्टलाई बढाउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्