काँकरभिट्टा, चैत १३ । भारतका विभिन्न शहरमा कोरोना भाइरसको संक्रमण पुनः तीब्ररुपमा फैलिएका कारण भारतसँग सीमा जोडिएको नाकामा मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।

भारतबाट नेपालतर्फ यसको संक्रमण पुनः नफैलियोस् भन्ने उद्घेश्यले मेचीनगर नगरपालिकाले सीमा नाकामा उच्च सतर्कता अपनाउनेसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।

मेचीनगर नगरपालिकाको कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने तथा कोभिड १९ को संक्रमणलाई मध्यनजर गदैं होली पर्वमा भीडभाड नगर्ने, साविक सञ्चालनमा आएका क्वारेन्टाईन, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

नगरप्रमुख तथा समितिका संयोजक विमल आचार्यको सभापतित्वमा सम्पन्न बैठकले कोभिड १९ संक्रमणका लागि सरकारी, गैरसरकारी, अर्धसरकारी र सामुदायिक संघसंस्था र राजनैतिक पार्टीहरुबीचमा विगतमा भएका सहकार्यलाई व्यवस्थित बनाउने, राती, ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारवाहीका लागि सिफारिस गर्ने, सीमानाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमानाका वारिपारी गर्न निरुत्साहित गर्नेलगायतका निर्णय गरेको प्रेस संयोजक उप्रेतीले जानकारी दिए ।
मास्क, सेनिटाईजर, सामाजिक दूरीलगायत स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाईका साथ लागू गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेती, समितिका सदस्यहरु तथा नवीन वराल, कृष्ण कनाल टीकाराम मंग्रान्ती, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्