बिर्तामोड, चैत १३ । नेपाली साहित्यका अग्रज भाषाविद् चूडामणि रेग्मीको चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली लोकार्पण गरिएको छ ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टी खोलीको लोकार्पण गरिएको हो ।
साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यता तथा जयेन्द्रप्रसाद साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओली, साहित्यकार कोमलप्रसाद पोखरेल, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, पुण्य खरेललगायतले शुभकामना मन्तव्य राख्दै उमेरले बुढ्यौली अवस्थामा पुगेका साहित्यकार रेग्मीले प्रविधिको प्रयोग गरेर अहिले पनि साहित्य लेखनमा झक्झक्याइरहेको बताएका थिए ।
समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुती नगरेकै कारण सबैलाई संगसंगै लिएर हिड्ने व्यक्तित्व रेग्मी साहित्य क्षेत्रको पाठशाला भएको उनीहरुको भनाई थियो ।
साहित्यकारहरु होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राखेका थिए ।
प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा विरही अधिकारी, मिना अधिकारीलगायतले रचना वाचन गरेका थिए ।
सो अवसरमा श्रष्टा चूडामणि रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिदिएकोमा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिंदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गरे । रेग्मीको लोकार्पित पछिल्लो ग्रन्थावली आफ्नो ८४ औं जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । २३२ पृष्ठ लामो ग्रन्थावली भाग ३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्