दमक, चैत १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी दमकको नगर अधिवेशनको शनिबार उद्घाटन भएको छ ।

दमक ७ स्थित पौडेल वंशोद्धार केन्द्रीय समितिको भवनमा राप्रपाका १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापा र दमक नगरका पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पार्टीका दमक नगर अध्यक्ष भीमप्रसाद पौडेलको अध्यक्षतामा शुरु भएको उद्घाटन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य राजेश गिरीको विशेष आतिथ्यता रहेको थियो । केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरु बासुदेव भट्टराई, लक्ष्मीप्रसाद संग्रौला, जयबहादुर श्रेष्ठलगायतका नेताहरुको उपस्थितिमा शुरु भएको अधिवेशनको उद्घाटन सत्रमा पार्टी स्थापनाकालदेखि हालसम्म निरन्तर पार्टीमा रहेर योगदान पुर्याउने करिब ७० जनालाई सम्मान गरिएको थियो । पार्टीका निष्ठावान कतिपय पुराना अग्रज कार्यकर्ताहरु शारीरिक असक्तताका कारण उपस्थित हुन नसकेको जनाइएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । अधिवेशनमा निर्वाचन प्रकृया अघि बढाउन कुमार भण्डारीको संयोजकत्वमा विधान बमोजिम निर्वाचन समिति तोकिएको नगर सचिव अर्जुन रेग्मीले जानकारी दिए ।

राप्रपा नगर अध्यक्ष पौडेलले पार्टीको केन्द्रीय सर्कुलर अनुसार यतिबेला सबै गाउँ नगरमा धमाधम अधिवेशन भइरहेको बताए । यसअघि दमक नगरका १० वटै वडामा वडा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको थियो ।
धेरै जसो गाउँ÷नगर अधिवेशन भइरहेका छन् – नगर अध्यक्ष पौडेलले भने । उनका अनुसार यही वैशाखको दोश्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्नेगरी हाल वडा तथा गाउँ नगरमा अधिवेशनहरु धमाधम भइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्